विराटनगर । नेकपा माओवादी केन्द्रले गएको निर्वाचन परिणामबाट पहिचान पक्षधर कमजोर बनेकोले पहिचानको आधारमा नाम राख्न नसक्ने अवस्था बनेको बताएको छ ।
बुधबार प्रदेशसभा बैठकमा बोल्दै माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले खोलानालाले पहिचान नखोजेको र जनताको लागि पहिचान चाहिएको भएपनि बहुमत सांसदहरु त्यसमा सहमत नभएको बताए ।
नेकपा एमालेले प्रदेशको नाम कोशी राख्न बुधबार नै प्रदेशसभामा प्रस्ताव पेश गरेको छ । नेपाली काँग्रेसले त्यसमा समर्थन गरेको छ । माओवादी केन्द्रले पनि कोशीकै पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
पाँच वर्षसम्म पहिचान कि भूगोल भन्ने विवादले नाम राख्न नसकेको स्मरण गर्दै आङ्बोले पहिचानको आधारमा नाम राख्नुपर्छ भन्ने पक्षमा संसदको गणित अनुकुल नभएको बाध्यता सुनाए । अघिल्लो प्रदेशसभामा पहिचानको पक्षमा धेरै मत भएपनि नामकरण हुन नसकेको स्मरण गर्दै उनले त्योबेला नयाँ जनादेश आएपछि नामकरण गर्ने प्रतिबद्धता जनाएको स्मरण गरे । ‘तर, नयाँ जनादेशपछि प्रदेशसभामा पहिचानको पक्षधरको उपस्थिति कमजोर भयो’ उनले भने, ‘अहिले हामीले चाहेर पनि पहिचानको पक्षमा नतिजा दिन सकेनौं, मुद्दा स्थापित गर्न सकेनौं ।’
आफ्नो पार्टी अहिले पनि पहिचानको पक्षमा रहेको दावी गर्दै आङ्बोले प्रदेशका जनताले दुईतिहाइ मत दिए प्रदेशको नाम पछि पनि फेर्न सकिने बताए । तर, अहिले प्रदेशको नामकरण गरेर निकास दिने हिसाबले पार्टी अगाडि बढेको उनको भनाइ छ ।
किरात प्रदेश नामकरण हुनुपर्छ भन्दा त्यसलाई जातिवादी भन्ने सोच गलत भएको भन्दै उनले किरात लिम्बूवान सभ्यतालाई गलत ब्याख्या गरिएको बताए । पहिचानसहितको नाम हुनुपर्छ भन्दा जातीयताको कुरा गर्नु आपत्तीजनक रहेको भन्दै उनले त्यसले पहिचानसहितको नाम बनाउँदा अन्य जाति र समुदायलाई समस्या हुन्छ भन्ने कुरा गलत रहेको बताए । पाँचथरका ८ वटै स्थानीय तहको नाम लिम्बू पहिचानको आधारमा रहेको उदाहरण पेश गर्दै उनले त्यहाँ कुनै समस्या नरहेको बताए ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले एमाले र कांग्रेसले पूर्वप्रतिबद्धता भुलेर कोशी नामकरण गर्न खोजेको आरोप लगाए । एमालेले संविधानसभाको दुईवटै चुनावको प्रतिबद्धतामा पहिचानसहितको प्रदेशको विषय उठाएको र काँग्रेसले पनि पहिचानको आधारमा नाम दिने प्रतिबद्धता चुनाबमा गरेको उनले बताए ।
नेपाली कांग्रेसले पनि विगतमा पहिचानलाई स्वीकार गरेको तर, अहिले आफ्नो प्रतिबद्धतालाई लत्याएको उनको आरोप छ । ‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने नाम राख्नुपर्छ भनेको थियो कांग्रेसले’ उनले भने, ‘तर, द्वन्द्व बढाउने र पहिचान नभेटिने कोसीमा काँग्रेस सहमत भएछ ।’
नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी नाम राख्दा सबै पक्षलाई समेटिने बताए । सबै सभ्यता कोशीसँग जोडिएको बताउँदै उनले प्रदेशको नाम कोशी उपयुक्त भएको धारणा राखे ।
प्रदेशसभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले भने कोशी नाम नै उपयुक्त रहेको बताए । अहिलेसम्म नाम राख्न नसकेको भनेर प्रदेशको आलोचना भइरहेका बेला कोशी नाम पारित गर्नुपर्ने उनको धारणा थियो ।
राप्रपाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले कोशी प्रदेशले सबै पहिचान समेट्ने भएका कारण कोशी प्रस्ताव पारित गर्न आग्रह गरे ।

