विराटनगर । प्रदेश १ को नामाकरणका लागि बसेको प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको छ।

छलफलमा रहेको कोशी प्रदेशको प्रस्तावमा संशोधन दर्ताका लागि सभामुख बाबुराम गौतमले २ घण्टाको समय दिएका हुन् ।

नेकपा एमालेले प्रस्ताव दर्ता गराएको कोशी प्रदेशमा नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका छन् । तर, काँग्रेसकै सांसद सम्शेर राई र विनोद राईले नाममा किराँत जोड्नुपर्ने मत राखेका छन् । यस्तै एमालेका रमेश बस्नेतले पनि किराँत नाम राख्दा जनमतको सम्मान हुने धारणा राखेका छन् ।

माओवादी केन्द्रले पहिचान सहितको नाम आउनु पर्ने आफ्नो चाहना रहेको भएपनि सोही कारण आउन लागेको नामको विषयमा बाधक नबन्ने बताएको छ । नेकपा एकीकृत समाजवादी र जसपा भने त्यसको विपक्षमा उभिएका छन् ।

कोशी नामसम्बन्धी प्रस्तावमाथि संशोधन दर्ता गराउन सांसदहरूलाई राति साढे ८ बजेसम्मको समय दिइएको छ । नाममाथि संशोधन परेमा त्यसमाथि छलफल गरेर निर्णय हुने र संशाृेधन प्रस्ताव दर्ता नभए कोशी प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरिने प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि कोशी नामकरण गर्ने एमाले सांसद रामबहादुर मगरले राखेको प्रस्ताव अत्याधिक बहुमतले स्वीकृत भएको थियो । नेकपा एकीकृत समाजवादी र जसपाले राखेको किरात–लिम्बूवान–सगरमाथा राख्ने प्रस्ताव भने अस्वीकृत भएको थियो ।