विराटनगर । प्रदेश नम्बर १ को नामकरण ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको छ ।
नेकपा (एकीकृत समाजवादी)का सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो ।
यसअघि एमालेका रामबहादुर मगर प्रस्तावक र काङ्ग्रेसका भुमिप्रसाद राजबंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव दर्ता भएकाे हाे ।
आजै दिउँसो हुने प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको छ ।
सभामुखको आदेशअनुसार सचिव पराजुलीले प्रकाशित गरेको सूचनामा प्रदेशसभा नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा प्रस्ताव पेस गर्न भनिएको छ । प्रदेशसभा सचिवालयले प्रदेश नामकरण प्रस्ताव पेस भइ निर्णय हुने गरी आजको प्रदेशसभा बैठकको कार्यसूची उल्लेख गरेको छ ।

