विराटनगर । कार्यालय सहयोगीलाई पढाउन लगाएर तलब बुझेको भन्दै एक शिक्षकलाई विराटनगर महानगरपालिकाले काजमा तानेको छ ।
आफ्नो ठाउँमा अर्काेलाई पढाउन लगाएर मासिक तलब बुझ्दै आएको अभियोगमा गणेश अधिकारीलाई महानगरपालिकाले अनुसन्धानका लागि काजमा तानेको हो । विराटनगर– १९ स्थित शिवजी आधारभूत विद्यालयका शिक्षक अधिकारी नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता समेत हुन् । उनी शिक्षणभन्दा बीमाकै काममा बढी व्यस्त हुने गरेको आरोप छ ।
२०६३ सालमा खोटाङको बालकन्या निम्न माध्यमिक विद्यालयबाट जागिर शुरू गरेका उनी २०७८ चैतदेखि विराटनगर १९ स्थित जागृति आधारभूत विद्यालयमा प्रधानाध्यापकका रूपमा सरुवा भएका थिए । त्यहाँ पनि पढाउन नआउने गरेको गुनासो बढेपछि तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको ठाडो निर्देशनमा उनलाई विराटनगरकै अर्काे एक विद्यालयमा सरुवा गरिएको थियो ।
त्यसपछि शिवजी आधारभूत विद्यालयमा दरबन्दीअनुसार शिक्षक नभएको थाहा पाएपछि उनको नजर त्यता पर्यो । उनी पहुँच पुर्याएर शिवजी आधारभूत विद्यालयमा सरुवा भए । उक्त विद्यालयमा पुगेपछि पनि उनको मनोमानी रोकिएन । हाजिर भएको दिन पनि विद्यार्थीको खाजा खाने समयसम्म मात्रै बस्ने गरेको विद्यालयका प्रधानाध्यापक विष्णु सरदारले बताए । सरदारका अनुसार उनले पढाउने विषय भने विद्यालयकी कार्यालय सहायक सन्न कुमारी सरदारले पढाउने गर्थिन् ।
बीमा गराउने मानिस खोज्नमा मात्र ध्यान दिने उनी पढाउन नआउने गरेको सोही विद्यालयका अर्का एक शिक्षकले बताए । गत माघ १६ गते विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की अनुगमन गर्न पुगेपछि उनको कर्तुत बाहिरिएको हो । ‘म दैनिक एउटा सामुदायिक विद्यालयमा छिर्ने गर्छु,’ उनले भनिन्, ‘त्यही क्रममा शिवजी आधारभूत विद्यालयमा पुग्दा उहाँले हाजिर गरेर हिँडिसकेको भेटें ।’
तलब खानका लागि मात्रै हाजिर गर्ने गरेको खुलेको उपमेयर शिल्पाले बताइन् । शिक्षक अधिकारीलाई तत्काल स्पष्टीकरण सोध्न उनले शिक्षा महाशाखालाई निर्देशन दिएकी थिइन् । त्यसपछि माघ १७ गते स्पष्टीकरण सोधिएको थियो । उनले स्पष्टीकरण बुझाइसकेका छन् ।
स्पष्टीकरण सोधिएपछि शिक्षक अधिकारीले नेताहरूको पावर पनि लगाएका थिए । शिक्षक अधिकारी र उपमेयरको पार्टी भने एउटै हो । दुवैजना एमालेका हुन् । ‘मलाई पार्टीकै नेताहरूले उसलाई सम्झाएर छाड्न भनेर दबाब दिनुभयो । तर, मैले बालबालिकाको भविष्यमाथि खेलबाड गर्नेलाई त्यत्तिकै छाड्न सक्दिनँ भनें । यसबापत पार्टीले कारबाही गर्छ भने पनि तयार छु,’ उनले भनिन् ।
शिक्षक अधिकारीलाई मंगलवारदेखि महानगरमा काज सरुवा गरिएको छ । नगर प्रमुख काठमाडौंमा भएकाले आएपछि थप निर्णय हुने उनले बताइन् ।
मंगलवार शिक्षक अधिकारी महानगरमा हाजिर भइसकेका छन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको कार्यकक्षमा भेटिएका अधिकारीले नियमित विद्यालयमा गएर पढाए पनि विभिन्न बहानामा दुःख दिइएको आरोप लगाए । उनले आफूले नभ्याउँदा अरूलाई पठनपाठन गर्दिनुस् भनेको बताए । बीमाको काममा मात्र केन्द्रित हुने गरेको भन्ने आरोप समेत उनले खण्डन गरे । आफू बीमाकर्ता नभएको उनको दाबी छ । ‘म बीमा गराउँदिनँ, मेरा कर्मचारीहरू छन्,’ उनले भने ।

