इलाम । जिल्ला प्रशासन कार्यालय इलामले बिहान सात बजेदेखि राति अबेरसम्मै राहदानी सेवा दिन थालेपछि सेवाग्राहीलाई सजिलो भएको छ ।अरुबेला दुई तीन दिनसम्म पालै नपाउने सेवाग्राहीले एकै दिनमा राहदानीको सबै सेवा पाएपछि बिहानैदेखिको सेवा प्रभावकारी बनेको देखिएको छ । पहाडी जिल्ला इलामका विभिन्न ठाउँबाट सेवा लिन आउनेहरुले एकै दिनमा काम सकिँदा सजिलो भएको बताएका छन् ।

‘पहिला–पहिला दुई तीन दिन समय लाग्छ भन्ने सुनेको थिएँ तर आज मेरो काम एकै दिनमा सकियो’, इलाम माङ्सेबुङ २ की गोसिका खड्काले भनिन् ‘म आजै बिहान घरबाट हिँडेको थिएँ । काम सकियो, अब साँझ घरै पुग्छु ।’ उनका अनुसार साँझ ५ बजेसम्म पनि जिल्ला प्रशासनको राहदानी फाँटमा डेढ सय जनाभन्दा बढी लाइनमा बसिरहेका छन् । लामो समयदेखि राहदानी बनाउन जुटेका तर पालो नआएकाहरुको लाइन अहिले दैनिक ठूलो हुने गरेको जिल्ला प्रशासनले जनाएको छ ।

‘अहिले बेलुकाको ५ बज्यो, अहिले पनि यहाँ डेढ सय जना लाइनमै हुनुहुन्छ’, जिल्ला प्रशासनका अधिकृत यादव राउतले भने ‘उहाँहरु सबैको काम सकेर मात्रै पठाउनेछौं । राति जति बजे पनि उहाँहरुलाई अर्को दिन आउनुस् भन्ने छैनौं ।’ उनका अनुसार दक्षिण र पश्चिम इलामका धेरै ठाउँ यस्ता छन्, जहाँका सर्वसाधारणले सदरमुकाम पुग्न झापा हुँदै जानुपर्छ । ‘चुलाचुली, बाँझो जस्ता ठाउँबाट आउनुभएका सेवाग्राहीहरुलाई बिहानैदेखि रातिसम्मको सेवाले राम्रो भएको छ । अचेल कोही पनि राहदानीका लागि अर्को दिन आउनु परेको छैन ।’ राहदानी विभागको सर्भर बेलाबेला समस्याग्रस्त हुँदा राति ढिला भएर कहिलेकाहीँ १० बजेसम्मै काम गर्नुपरेको उनले सुनाए ।

यो सेवाले दुर्गम र टाढाबाट आउने सेवाग्राहीलाई राहदानीकै लागि दुई तीन दिनसम्म होटलमा बस्नुपर्ने, आफन्त वा साथीभाईको घरमा बास बस्नुपर्ने झन्झटबाट मुक्ति दिएको छ । जिल्ला प्रशासनले यसरी बिहानदेखि राति अबेरसम्म राहदानीको सेवा दिन थालेको माघ २५ गतेदेखि हो । त्यसयता दैनिक कम्तीमा डेढ सय जनादेखि अधिकतम २१७ जनासम्मले राहदानीको काम सकाएका छन् ।

‘बिहानदेखि राति अबेरसम्मको सेवाले जनतालाई ज्यादै सहज भएको अनुभव गरेका छौं’, यो सेवा प्रारम्भ गराएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने ‘यहाँ ४–५ महिनादेखि पेन्डिङमा रहेकाहरु धेरै थिए । उहाँहरुलाई यसरी झुलाउने काम ठीक होइन । त्यसैले हामीले बिहानदेखि नै सेवा दिन थालेका हौं ।’

प्रजिअ पोखरेलका अनुसार राहदानीको ‘प्रि–इन्भल्भमेन्ट फारम’ भर्ने प्रक्रिया ज्यादै झन्झटिलो छ । सबै सर्वसाधारणको सूचना प्रविधिमा पहुँच नहुने हुँदा त्यो काम प्रशासन कार्यालय आसपासका साइबर क्याफे सन्चालकहरुले गरिदिने गर्थे । ‘जसले धेरै पैसा दियो, उसको फारम छिटो भरिदिने, कम दिनेलाई अर्को दिन आउनु भन्दै उनीहरुले पठाउने रहेछन्’, प्रजिअ पोखरेलले भने ‘म माघ १५ मा आएपछि यो कुरा थाहा पाएँ । अनि २५ गतेदेखि बिहानैदेखि राति अबेरसम्म काम हामी आफैले गरिदिन थाल्यौं ।’

राहदानी बनाउनका लागि आइपुग्नेहरुलाई बिचौलियाहरुले दुःख दिने गरेको र अहिले त्यो अन्त्य भएको प्रजिअ पोरखेलको भनाइ छ । अहिले प्रि इन्भल्भमेन्ट फारम जिल्ला प्रशासनकै कर्मचारीले भरिदिने गरेका छन् । नागरिकता, राष्ट्रिय परिचयपत्र, बिहे दर्ता, बसाइँसराई जस्ता सम्पूर्ण व्यक्तिगत विवरणको कागजात अपलोड गर्नुपर्ने भएकाले सर्वसाधारणलाई यो फारम भर्न झन्झट हुने गरेको छ । प्रशासनकै कर्मचारीले फाराम भरिदिएर फोटो खिचाएपछि सेवाग्राहीको काम सकिन्छ । उनीहरुले राहदानी विभागबाट राहदानी लिन सक्छन् ।

बिहान ७ बजेदेखि राति ८ बजेसम्म राहदानीको काम गर्नलाई केही जनशक्ति थपिएको र केहीलाई पालो बाँडेर काममा लगाइएको अधिकृत राउतले जानकारी दिए । ‘अधिकृतसहित ४–५ जना कर्मचारीहरु बिहानै आउँछौं र काम थाल्छौं’, उनले भने ‘बिहान आउने खरिदार, नासुहरुलाई दिउँसो १ बजे बिदा दिन्छौं । अधिकृतहरु चाहिँ रातिसम्मै बस्छौं । दिउँसो १ बजे आइपुग्ने कर्मचारीहरुले राति जतिबेलासम्म काम सकिन्न त्यसबेलासम्म सेवा दिने गर्नुभएको छ ।’

बिहान आउने कर्मचारीहरुलाई प्रशासन कार्यालयले बिहानको खाना खुवाउनेबाहेक अतिरिक्त सुविधा केही नदिएको र बजेट पनि नहुने प्रशासन कार्यालयको भनाइ छ । यसरी बिहानदेखि राति अबेरसम्म राहदानी सेवा कहिलेसम्म दिने भन्ने कुनै टुंगो भने छैन । ‘५० दिनमा पेन्डिङ रहेका र नयाँ आउनेहरुलाई सेवा दिएर भीड घट्ला भन्ने अनुमान छ’, प्रजिअ पोखरेलले भने ‘यो भीड नघटेसम्म हामी निरन्तरता दिनछौं । त्यसपछि के गर्ने भन्ने अनि निर्णय लिनेछौं ।’