विराटनगर । नेकपा एमाले मोरङले मिसन ग्रासरुट अभियानमा विद्यालयमा फूलबारी अभियानदेखि तरकारीमा आत्मनिर्भर बन्ने अभियानसम्म सञ्चालन गर्ने भएको छ ।

मंगलवार बसेको एमाले मोरङको जिल्ला कमिटीको विशेष बैठकले अभियानका क्रममा सामुदायिक विद्यालय शिक्षा सुधार, स्वास्थ्य र पोषणको जानकारी, विद्यालयमा फूलबारी अभियान सञ्चालन गर्नेलगायत निर्णय गरेको जिल्ला अध्यक्ष अध्यक्ष ऋषिकेश पोख्रेलले बताए ।

पोखरेलका अनुसार, संगठनात्मक र वैचारिक कामसँगै समाजसँग जोडिएका धेरै क्षेत्रमा अभियान सञ्चालन गरिनेछ।

अभियानका क्रममा एमालेले स्वास्थ्य केन्द्रहरूको सरसफाइसमेत गर्ने जनाएको छ ।

यस्तै ज्येष्ठ नागरिकहरूको संस्थामा सहयोग, सम्मान गर्ने कार्यसूची बनाएको एमाले मोरङले भजन, कीर्तन मण्डलीबीच छलफल गर्ने र वडास्तरीय प्रतिस्पर्धात्मक भजन(कीर्तन गराई पुरस्कारको व्यवस्था गर्ने जनाएको छ ।

सहकारी तथा साना किसानहरूको भेला आयोजना गरी विषयगत प्रशिक्षण दिने पनि योजना एमालेले बताएको छ।

त्यस्तै सामुदायिक वन उपभोक्ताहरूको समेत भेला र प्रशिक्षण दिइने छ।

धाँमी, झाँक्री, ज्योतिषहरू र आयुर्वेद औषधि प्रयोग गर्नेहरूसँग पार्टी नेतृत्वको समूहले भेटघाट गर्ने र उनीहरूलाई अहिलेको परिवर्तित सन्दर्भ र परम्परागत प्रणालीबीच अन्तरसंवाद पनि गराइने एमाले मोरङले जनाएको छ।

यसैगरी उत्कृष्ट योगदान गर्नेहरूका घरघरमा गएर सम्मान गर्ने तथा गुनासाहरूको अध्ययन गर्ने पनि एमालेको कार्यक्रममा छ।

समाजमा रहेका विभिन्न धार्मिकरसास्कृतिक समूहसँग दुःखसुखका कुरा गर्ने पनि अभियानमा समेटिएको छ । एमालेका सबै पार्टी सदस्यहरूलाई अनिवार्य करेसाबारी बनाउन लगाउने र तरकारीमा आत्मनिर्भर बन्न पनि सिकाइने जनाइएको छ।

पार्टी सदस्यले कम्तीमा एउटा फलफूलको बिरुवा रोप्न अनिवार्य गरिएको छ । किसानहरूका समस्या समाधानका लागि जैविक मल बनाउने प्राविधिकसँग समन्वय गरेर किसानलाई सीप सिकाउने र मलमा आत्मनिर्भर हुन उत्प्रेरित गर्नेसम्म एमालेको योजना बनाइएको छ।

एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल, जितु गौतम, जगदीशप्रसाद कुसियतलगायत दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान लिएर मोरङमा खटिएका छन् ।

फागुन ५ गते औपचारिक रुपमा संगठन सुदृढीकीरण गर्ने उद्देश्यका साथ देशभर जनतासम्म पुग्नेगरी पार्टीका नेताहरूलाई जिम्मेवारी दिँदै आ–आफ्ना क्षेत्रमा परिचालन गरेको छ ।