विराटनगर ।विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट हुन लागेको हो ।

आयोजकले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी फागुन ११ देखि १८ गतेसम्म विराटनगर ६ मा रहेको ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विराटनगरका ८ वटा विद्यालय सहभागी हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेष श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विराटनगरका बाल्मीकि, बुढानिलकन्ठ, विनायक, सरस्वती, सत्यनारायण, पोखरिया, मनकामना र राइजिङ नेपालले भाग लिएका छन् ।

प्रतियोगिताको लिग खेल २५ ओभरको हुनेछ भने सेमिफाइनल र फाइनल ३० ओभरको हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले ट्रफी र प्रमाणपत्र पाउनेछन् । बेस्ट ब्याटस्म्यान, बेस्ट बलर, म्यान अफ द टुर्नामेन्ट, बेस्ट किपर र बेस्ट फिल्डर हुने खेलाडीले विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमीको तर्फबाट छात्रवृत्ति पाउनेछन् ।

प्रतियोगितामा भाग लिने टिमले दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ रहेको छ भने प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख खर्च हुने अनुमान गरिएको छ । नेपाल क्रिकेट फाउन्डेसनले यो प्रतियोगिता सकिएलगत्तै मार्च ३ तारिखबाट महिला क्रिकेट प्रतियोगिता विराटनगरमा गर्दैछ । सामुदायिक विद्यालयका मात्र महिला खेलाडीहरुले प्रतियोगितामा भाग लिन पाउने फाउण्डेसनको अध्यक्ष श्रेष्ठले बताए । क्रिकेट खेलको ग्रासरुटबाट विकास गर्ने उद्देश्यले स्कुल तहबाट यस्तो प्रतियोगितामा जोड दिएको उनले बताए । ‘हामीले गर्ने क्रिकेट प्रतियोगिताहरु क्रिकेट खेलको विकासको लागि हो,’ उनले भने, ‘स्कुल तहबाट खेलाडी उत्पादन गरी राष्ट्रिय स्तरको क्रिकेट खेलाडी उत्पादन गर्नु हो ।’