विराटनगर । गएको मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा मोरङका विजेताभन्दा पराजितहरुले धेरै खर्च गरेको पाइएको छ ।

मोरङका उम्मेद्वारहरुले निर्वाचन आयोगलाई बुझाएको खर्च विवरणले यस्तो देखाएको हो । निर्वाचन आयोगले समयमै निर्वाचन खर्च नबुझाउने स्थानीय तहका उम्मेदवारलाई जरिवाना तोके पनि संघ र प्रदेशसभा उम्मेदवारले भने समयमै निर्वाचन खर्च बुझाएका छन् ।

स्थानीय तहको निर्वाचनका उम्मेदवारले समयमा खर्च विवरण नबुझाए पनि माफी मिनाहा भएको छ । भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले माफी दिन निर्णय गरेको थियो । सोही निर्णयका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिनाहा गरेकी थिइन् ।

निर्वाचन परिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण बझाउनुपर्छ । प्रतिनिधिसभामा ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा १ सय ५ जना उम्मेदवार रहेका थिए । १२ निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा १ सय १० जना उम्मेदवार थिए । प्रतिनिधिसभाका दुई जना उम्मेदवारले भने समयसीमा सकिए पनि खर्च विवरण बुझाएका छैनन् । उनीहरू निर्वाचनमा पराजित भएकाहरू हुन् ।

प्रतिनिधिसभा मोरङ १ बाट उम्मेदवार बनेका यमप्रसाद दाहाल र क्षेत्र नम्बर क्षेत्रका शिवकुमार पौडेलले खर्च बुझाएका छैनन् । उनीहरू दुवै जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्रदेश १ निर्वाचन कार्यालयका शाखा अधिकृत महेश कुमार ठाकुरका अनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

उनले ३० लाख ६४ हजार ३९९.४० पैसा खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रहेका एमालेका भानुभक्त ढकालले भने शर्माले भन्दा आधा कम खर्च गरेको विवरण बुझाएका छन् । ढकालले ११ लाख ५० हजार बुझाएका छन् । शर्मा नोबेल मेडिकल कलेनका सञ्चालकसमेत हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहेका मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले १९ लाख २९ हजार ८१६ रुपैयाँ चुनावमा खर्च गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेका विनोद ढकालले भने २६ लाख ४८ हजार २३० रुपैयाँ खर्च गरेका थिए । मोदी माओवादीका हुन् ।

क्षेत्र नम्बर १ बाट निर्वाचित भएका कांग्रेसका डिगबहादुर लिम्बूले ७ लाख ७४ हजार १ सय रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका घनश्याम खतिवडाले भने १८ लाख ८८ हजार ४२२.६६ पैसा खर्च गरेका छन् । क्षेत्र नम्बर २ मा गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाताले भने झन्डै १८ लाख खर्च गरिन् । उनले १७ लाख ९५ हजार ९१६ रुपैयाँ खर्च गरेको विवरण बुझाएकी छन् ।
एमालेका ऋषिकेश पोखरेलले २० लाखको हाराहारीमा खर्च गरेका छन् । पोख्रेलले १९ लाख ९९ हजार ५ सय ५५ रुपैयाँ खर्च गरेको विवरण बुझाएका हुन् । पोखरेल विजयी भएका थिए ।

क्षेत्र नम्बर ५ बाट निर्वाचितभन्दा पराजित भएकाहरूले धेरै खर्च गरेका छन् । यस क्षेत्रमा सत्ता गठबन्धन र विपक्षी गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र योगेन्द्र मण्डल निर्वाचित भएका थिए ।

तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल र विपक्षी गठबन्धनबाट जसपाका राजकुमार यादव चुनावी मैदानमा थिए । एमालेले जसपासँग गठबन्धन गरेपछि योगेन्द्रले एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले १४ लाख ७० हजार ४६७ खर्च गरेको विवरण बुझाएका छन् । जसपाका राजकुमार यादवले १७ लाख ५० हजार खर्च गरेको विवरण बुझाएका छन् । माओवादीका मण्डलले ८ लाख ६७ हजार ८६२.५१ रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् ।

यस्तै क्षेत्र नम्बर ६ मो नेपाली कांग्रेसका प्रभावशाली नेतासमेत रहेका डा .शेखर कोइरालाले १९ लाख ८१ हजार २०५ रुपैयाँ खर्च गरेको विवरण आयोगलाई बुझाएका छन् । एमालेका लालबाबु पण्डितले भने १३ लाख ९७ हजार १०८ रुपैयाँ खर्च गरेको विवरण पेश गरेका छन् । उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम, (सामाजिक सञ्जालसमेत )कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायत शीर्षकमा उम्मेदवारले खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
मोरङका ३ वटा क्षेत्रका उम्मेदवारले ३१ लाख र ३ वटा क्षेत्रका उम्मेदवारले २९ लाख निर्वाचनमा खर्च गर्न पाउने व्यवस्था गरिएको थियो । आयोगका अनुसार क्षेत्र नम्बर ४,५, र ६ का उम्मेदवारले अधिकतम् २९ लाख मात्रै खर्च गर्न पाउँथे । भौगोगिक रूपमा विकट ,मतदाता संख्या,मतदान केन्द्रका आधारमा आयोगले खर्चको सीमा तोकेको थियो ।