खोटाङ ।२००७ सालका क्रान्तिका नायक रामप्रसाद राईको सालिक अनावरण गरिएको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजार टुँडिखेलमा एक वर्षअघि बनाइएको सालिक प्रतिनिधिसभा सदस्य रामकुमार राईले सोमबार अनावरण गरेका हुन् ।

अघिल्लो वर्षको पुसमै काम सकिए पनि विभिन्न कारणले उद्घाटन हुन नसक्दा घुम्टोले छोपेर राखिएको थियो । करिब ७९ लाखको लागतमा विभिन्न संरचनासहित सालिक निर्माण गरिएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिव फुयाँलले बताए । ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनावरण गर्ने योजना बनाइएको थियो तर स्थानीय तहको चुनाव आइहाल्यो, आचारसंहिता लागू भयो, त्यसपछि त्यत्तिकै भयो,’ फुयाँलले भने, ‘ढिलै भए पनि अनावरण भयो ।’

२००७ सालमा क्रान्तिको नेतृत्व गर्ने राईको सम्मानमा उक्त सालिक राखिएको हो । खोटाङ बजारलाई पर्यटन तथा विकासको केन्द्रविन्दु बनाउने उद्देश्यले सालिक राखिएको फुयाँलले बताए । सालिकसहितका विभिन्न संरचनाका लागि खोटेहाङ गाउँपालिकाको ४९ लाख र प्रदेश सरकारको ३० लाख रुपैयाँ खर्च भएको फुयालको भनाइ छ ।

उक्त ठाउँमा राईले रोपेको समीको रुख पनि छ । त्यसैनजिक सालिक राखिएको हो । सन्तान वियोगमा राईले उक्त रुख रोपेको खोटाङ बजारस्थित दीनानाथ भगवती उच्च माविका पूर्व प्रअ ७९ वर्षीय माणिकलाल प्रधानले बताए । भोजपुरको बासिखोरा हालको रामप्रसाद राई गाउँपालिका–७ बासिखोरामा जन्मिएका राई तत्कालीन सेनाका लेफ्टिनेन्ट थिए । २०१८ सालअघि खोटाङ बजारमा भोजपुरको प्रशासनिक अड्डा थियो । राई त्यही अड्डामा कार्यरत थिए । त्यसै बेला कांग्रेससँग मिलेको आरोपमा २००६ सालमा जागिरबाट बर्खास्त गरिएपछि २००७ सालमा क्रान्तिको नेतृत्व गरेका थिए । त्यसपछि २००८ सालमा सिंहदरबार कब्जा गरेका थिए ।