विराटनगर । प्रदेश एकका सभामुख बाबुराम गौतमले संसदीय अभ्यास र परम्परालाई जनपक्षिय बनाउन पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन ।

संसदीय पत्रकार मन्च प्रदेश एक समितिले आज विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रकारहरूले संसदीय मर्यादा र अभ्यासलाई ख्याल गरेर जिम्मेवार ढङ्गले समाचार संकलन गर्नुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा बोल्दै उपसभामुख सिर्जना दनुवारले लोकतन्त्र र संघीयताको स्थायित्वकालागि भौतिक विकासले मात्रै नहुने बताउँदै सदन र सरकार दुवैलाई जनपक्षिय बनाउनुपर्नेमा जोड दिइन ।

कार्यक्रममा बोल्दै मन्चका अध्यक्ष गणेश लम्सालले संघीयता र प्रदेशको औचित्यमाथि बारम्बार प्रश्न उठिरहेकाले प्रदेश सभा र सांसदहरूले यसलाई चिर्न जरुरी रहेको बताए । संसदीय मामिलामा पत्रकारहरूको भूमिका प्रभावकारी भए नागरिकको अधिकार सुरक्षित हुने बताउँदै उनले सदनका क्रियाकलापहरूमा पत्रकारहरूको पहुँचलाई सहज र सरल बनाउन माग समेत गरे ।

प्रदेश पत्रकार महांसघका अध्यक्ष लीला वल्लभ घिमिरेले सदनले जनताको आवाज उठाउनु पर्ने बताए । महांसघ प्रदेश १ का महासचिव विवेक गौतमले सभामुख र उपसभामुखले संघीयता कार्यान्वयन गर्दै बलियो बनाउने आवश्यक कानुन निर्माण गर्न सरकारसँग सहजीकरणको भूमिका खेल्नु पर्ने बताए । महांसघ प्रदेश १ का निवर्तमान अध्यक्ष विक्रम लुइँटेलले संसद् सचिवालयले पत्रकारलाई सही सूचना दिनुपर्ने बताए ।