विराटनगर । केन्द्रीय सदस्य दुर्गा प्रसाईले नेकपा एमाले छाडेको घोषणा गरेका छन । उनी उद्योग विभाग उप प्रमुखसमेत रहेका थिए ।

झापाको काकडभिट्टामा फागुन १ गते पूर्वराज परिवारलाई ल्याएर धार्मिक अभियान सुरु गरेपछि प्रसाईमाथि एमाले प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेको थियो ।

उनले आइतवार झापामा पत्रकारहरुसँगको कुराकानीका क्रममा एमाले छाडेर जनतामाझ आइसकेको बताए ।

उनले एमालेले कारबाही अघि बढाएपछि अध्यक्ष केपी शर्मा ओलीको पनि चर्काे आलोचना गरेका छन्।

‘केपी ओलीको राष्ट्रवाद खोक्रो हो। चुनावका बेला राष्ट्रियता भनेर लिपुलेक–कालापानीको नाम लिन्छन,’ उनले भने तर अरु बेला भुल्छन ।’

उनले आफूमाथि कारबाही हुने भएपछि काठमाडौंमा भेटेर ओलीलाई केन्द्रीय सदस्य तपाईं नै राख्नु भनेर हिँडेको पनि बताए।

‘मलाई हिजो कारबाही गर्दै गर्दा मैले भनेँ, हजुरबुवा तपाईंको केन्द्रीय सदस्य तपाईं नै राख्नुस् मलाई चाहिँदैनु, उनले भनेका छन्,’म कार्यकर्ताको मनमा होइन जनताको मनमा बस्ने मान्छे हो। म त्यही अनुसार काम गर्न एमाले छाडेर आएको हुँ।’

उनले एमालेतिर लक्षित गर्दै कारबाही गर्नुअघि स्पष्टीकरण समेत नसोधिएको गुनासो गरे। मेरा भूतपूर्व अध्यक्ष केपी शर्मा ओलीलाई हिजो बेलुका भनेँ, मैले एउटा दीप बाल्दा यत्रो आतंक! यो अभियानमा लाग्दा कारबाही भोग्नुपर्याे, तपाईंको केन्द्रीय सदस्य राख्नुस

प्रसाईले आफू कुनै पार्टीको झोले र गुलाम भएर नहिँड्ने पनि बताए।