जनताले जित्न थालेको दिन

 सम्पादकीय

२००७ को फागुन ७ नेपाली राजनीतिक इतिहासमा महत्वपूर्वक स्मरण गरिने दिन हो । जहाँनिया राणा शासनविरुद्ध जनताले विजय प्राप्त गरेको दिन फागुन ७ लाई जनताले जित्न थालेको दिनका रुपमा सम्झना गर्न सकिन्छ । त्यसबेला मुलुक राणा शासनको क्रुर पन्जामा थियो । सर्वसाधारण नागरिक त के, शाहवंशका राजाहरुसमेत राणाहरुद्वारा किनारामा पारिएका थिए । पारिवारिक शासनको बोभ mयति भारी भइसकेको थियो कि, जनता अन्ततः संघर्षमा उत्रिन बाध्य भए । इतिहासमै ठूलो संघर्षमार्फत जनताले राणा शासन ढालेका थिए । त्यही सम्झनास्वरुप हरेक फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । राणा शासन ढालेर प्रजातन्त्रको प्रादुर्भाव भएको दिनलाई ‘प्रजातन्त्र दिवस’ का रुपमा मनाइरहँदा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मारिसकेको छ । संघीय नेपाललाई अझ दरिलो र संस्थागत गर्दै अघि बढ्नु पर्ने दायित्व मुलुकका सामु छ ।

२००७ सालको जनक्रान्तिले प्रजातन्त्रको स्थापना गरे पनि त्यसलगत्तै दलहरूमा जुन किसिमको बेमेल र अन्तरद्वन्द्व देखिएको थियो, त्यसैका कारण मुलुकले विकास र स्थायित्वको बाटो समात्न सकेन । त्यसयता प्रजातन्त्र गुम्ने र पुनस्र्थापित हुने क्रम चलिरह्यो । २०१७ देखि २०६१ माघ १९ सम्म आइपुग्दा पटकपटक जनाधिकार मात्रै खोसिएन, मुलुक सक्रिय राजतन्त्रको जाँतोमा बारम्बार पिसियो । त्यसो त २०४६ होस् अथवा २०६२–६३ को जनान्दोलन, माओवादी जनयुद्ध तथा मधेश लगायत अरु थुप्रै आन्दोलनको बलमा नेपाल अहिलेको अवस्थामा आइपुगेको सत्य हो । यद्यपि अहिले पनि दलहरुबीच हुने सत्ताको घातक खेल, अदुरदर्शी गतिविधि तथा दलहरुको बेपर्वाह शैली उस्तै छ । यसमा व्यापक सुधार गरेर अघि नबढे जनताले अर्को आन्दोलन नगर्ने ग्यारेन्टी छैन । यसर्थ फागुन ७ लाई शासक वर्गले आफूमाथिको खबरदारीको दिन भनेर बुझ्न पनि जरुरी छ ।

नेपाली दल र नेताहरुको सबैभन्दा ठूलो सफलता क्रान्तिको सफल नेतृत्व गर्नु तर परिवर्तनलाई संस्थागत गर्न नसक्नु हो । सात सालको जनक्रान्तिले जहानियाँ राणा शासनको अन्त्य गर्दै नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउने ढोका खोलेको थियो । तर, प्रजातान्त्रिक व्यवस्था दस वर्ष पनि टिकाउ भएन । राजा महेन्द्रको बढ्दो महत्वाकांक्षाका कारण २०१७ सालमा प्रजातन्त्रको कू भयो र निरंकुश पञ्चायती व्यवस्था लागू भयो । २०४६ को आन्दोलनको बलमा प्रजातन्त्रको पुनस्र्थापना भए पनि आन्दोलनका सहयात्री दलहरूबीच लगत्तै सत्ताका लागि खिचातानी सुरु भइहाल्यो । सामान्य बहुमत ल्याएको सत्ता पक्षको व्यवहार सबै जितेजस्तो देखियो भने प्रतिपक्षमा दलमा धैर्यता देखिएन । प्रतिपक्षी दलले विरोधको नाममा सदन र सडक सबैतिर संघर्ष चलायो जसका कारण सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलको सम्बन्ध तिक्ततापूर्ण रह्यो । यसले राजनीतिमा अस्थिरता मात्रै ल्याएन, नेताहरूमा देखिएको महत्वाकांक्षाका कारण एउटै पार्टीभित्र अनेकौं गुट÷उपगुटको जन्म भयो । बहुमतको संसद् विघटन गर्नेदेखि आफ्नै पार्टी नेतृत्वको सरकार गिराउनेसम्मका खेल भए । एकातिर संसदीय राजनीतिको विकृत अनुहार देखियो भने अर्काेतिर सशस्त्र आन्दोलनले मुलुकलाई द्वन्द्वको बाटोमा धकेलिदियो । त्यही सेरोफेरोमा दरबारको महत्त्वकांक्षा यसरी बढ्यो कि प्रजातन्त्रको घाँटी निमोठ्ने काम भयो । लगत्तै जनान्दोलन र जनयुद्धको संयुक्त प्रयासबाट मुलुक गणतन्त्रमा प्रवेश गर्यो । त्यसयता नयाँ संविधान जारी भएर मुलुक अहिलेको अवस्थासम्म आइपुगेको छ ।

आजको अवस्थासम्म आइपुग्दा पनि हाम्रा दल र सत्ताका सन्चालकहरुको शैली बद्लिएको छैन । दीर्घकालीन योजनाहरु निर्माण गर्ने, राजनीतिक संस्कार प्रदर्शन गरेर मुलुकलाई नविन यात्रामा अग्रसर तुल्याउने अवसर दलहरुले खेर फ्याँक्दै आएका छन् । प्रजातन्त्र दिवसको अवसरमा हामी समस्त दलहरुलाई जनताको त्याग, बलिदान मात्रै होइन, उनीहरुको अपेक्षा ख्याल गर्न पनि सुझाव दिन्छौं । साथै, संघर्षले खारिएको नागरिक पंक्तिलाई पनि निरन्तर खबरदारीको आह्वान गर्दछौं ।

आइतबार, ०७ फागुन, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर