विराटनगर । ७३ औं प्रजातन्त्र दिवसको अवसरमा आज प्रदेश १ सरकारले प्रभातफेरिसहितका कार्यक्रम गरेर मनाएको छ ।

प्रदेश १ सरकारले प्रजातन्त्र दिवसको अवसरमा तीन दिने कार्यक्रम तय गरेकोमा आज विहान प्रभातफेरि र मुख्यमन्त्री कार्यालयमा औपचारिक कार्यक्रमसमेत गरियो ।

प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख, सुरक्षा निकाय, कर्मचारी, विद्यार्थी तथा नागरिक समाजको सहभागितामा मुख्यमन्त्री कार्यालयबाट प्रभातफेरि निकालिएको थियो । प्रभातफेरि मुख्यमन्त्री कार्यालयबाट रोडसेस चोक, बसपार्क, जनआन्दोलन चौक हुँदै ट्राफिक चौकबाट पुनः रोडसेचक चोक भएर मुख्यमन्त्री कार्यालयमा पुगेको थियो । मुख्यमन्त्री कार्यालयमा प्रजातन्त्र दिवसको अवसरमा औपचारिक समारोह आयोजना गरिएको थियो ।

सो अवसरमा सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उल्लेख गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सरकार प्रतिबद्ध रहेको बताए । सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु हामी सबैको साझा दायित्व भएको उनको भनाइ थियो ।

संविधानले निर्दिष्ट गरे बमोजिम संघ, प्रदेश र स्थानीय तह बिचको अन्तर सम्बन्धलाई थप सुदृढ बनाउदै नेपाली जनताका अपेक्षाहरुलाई पुरा गर्न आजको यस ऐतिहासिक दिनले प्रेरणा मिल्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गरेका छन् ।