काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ।

नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा प्रजातन्त्र दिवस मनाउने गरीएको छ ।
नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो।

मुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायतले बलिदानी दिएका थिए।

आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ।

प्रजातन्त्र दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष लगायतका दलका प्रमुखले नेपाली जनालाई शुभकामना सन्देश दिएका छन्।