विराटनगर । मोरङको रतुवामाई नगरपालिकाभित्रका सात घर सुकुम्बासीलाई धनीपूर्जा वितरण गरिएको छ । भूमि आयोग मोरङले सम्पूर्ण प्रक्रिया पूरा भई सरकारलाई राजश्व तिरेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवास गर्ने सात घरपरिवारलाई धनीपूर्जा वितरण गरेको हो ।
सुकुम्बासीहरूलाई प्रदेश सांसद गणेश उप्रेती (सुशिल), भूमि आयोग मोरङका अध्यक्ष सुशिला घिमिरे, रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वरप्रसाद सिंहले धनीपूर्जा बितरण गरेका थिए ।
कार्यक्रममा भूमि आयोगका अध्यक्ष घिमिरेले संविधानमा प्रत्येक नागरिकलाई भूमिको ज्ञारेन्टी गर्ने भनेर लिपीबद्ध गरिएको र त्यसको कार्यान्वयन स्वरुप जग्गा धनीपूर्जा वितरण गर्ने कार्य भइरहेको बताइन् । उनले सुकुम्बासीलाई यो वा त्यो बहानामा भोटबैंकको रुपमा मात्रै प्रयोग गर्ने दूषित राजनीतिको अन्त्य गर्न जग्गा धनीपूर्जा वितरण गरिरहेको बताइन् । चुनावको मुखमा जग्गा धनीपूर्जा वितरण गर्ने कार्य रोक्नु परेकोले केही ढिलाई केही ढिलाइ भएको उनले जानकारी दिइन् ।
मोरङमा अहिलेसम्म दुई सय घरपरिवारलाई धनीपूर्जा बितरण गरिसकेको घिमिरेले बताइन् । आयोगले केही समयभित्रै मोरङको सुन्दरहरैंचा नगरपालिका १० नम्बर वडामा रहेको एकता बस्तीमा ४ सय भन्दा बढी घरिपरिवारलाई पनि धनीपूर्जा बितरणको अन्तिम तयारी भएको उनले जानकारी दिइन् । ‘सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । कार्यपालिकाको बैठकले निर्णय गरेपछि धनीपूर्जा बितरण गरिन्छ,’ उनले भनिन् । यहाँ भूमिहीन सुकुम्बासी, अव्यवस्थित र दलित सुकुम्बासीलाई धनीपूर्जा बितरण गर्ने तयारी गरिएको छ । मोरङमा ७० हजार भन्दा बढी भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेको अनुमान गरिएको छ ।