विराटनगर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)ले राष्ट्रपति चयन पार्टी कार्यकर्ता भन्दा बाहिरबाट हुनसक्ने संकेत गरेका छन् । माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा आज सम्पन्न पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएको बैठकमा सहभागी नेताहरुले जनाएका छन् ।

‘मुलतः तीनवटा मान्यता पुरा गर्ने व्यक्तित्वलाई राष्ट्रपति मान्ने हाम्रो पार्टीको निर्णय हो,’ सम्बोधनका क्रममा उनले भने, ‘त्यो भनेको संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र संसदको पाँचै वर्ष स्थिरता रहन प्रतिबद्ध व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्यो ।’

उनले पूर्वराष्ट्रपति रामवरण यादव र राष्ट्रपति विद्यादेवी भण्डारी जस्तो व्यक्तित्व राष्ट्रपतिको उम्मेद्वार हुन नसक्ने पनि बताएका छन् । रामवरण यादवले तत्कालिन माओवादी नेतृत्वको सरकारले गरेको निर्णयमा हस्तक्षेप गरेको र हालकी राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको कार्यकर्ता भएको शर्माको आरोप थियो । जसका कारण संविधानको सही कार्यान्वयन हुन नसकेको र संसदलाई अस्थिर बनाउने कोशिस भएको उनको जिकिर थियो ।

‘राष्ट्रपति भनेको संविधान मान्ने बनाउन खोजेका छौं । त्यसको अर्थ कुनै पनि पार्टीको नेतालाई बनाउँदैनौं भन्ने हो,’ शर्माले बैठकमा भनेका थिए । त्यस विषयमा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि औपचारिक प्रस्ताव गरिसकेको उनले बताए । शर्माले राष्ट्रपति निर्वाचनले परिस्थिति कता जान्छ भन्न नसकिने पनि बताएका थिए ।

सम्बोधनका क्रममा शर्माले माओवादी अब पुरानै तरिकाले अगाडि बढ्न नसक्ने पनि बताएका थिए । ‘पुरानै तौर तरिकाबाट नचल्ने देखियो । आगामी ४ वर्ष घुँडा घसेर काम गर्नु आवश्यक छ,’ शर्माले भनेका थिए । शर्माले घुमाउरो पाराले पार्टी अध्यक्ष प्रचण्डको विकल्प खोज्नुपर्ने आशय पनि व्यक्त गरेका थिए । ‘युद्ध र शान्तिको नेतृत्व प्रचण्डले गर्नुभयो । अबको नेतृत्व गर्न अरु पुस्ता अगाडि आउनु पर्छ भन्ने आशयको कुरा गर्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने । उनले पार्टी बन्नका लागि मुहानदेखि तलसम्मै सफा हुनुपर्नेमा जोड दिएका थिए ।

माओवादी केन्द्रको प्रदेश १ समितिको पूर्ण बैठक सकिएको छ । बैठकले गरेको निर्णय औपचारिक रुपमा सार्वजनिक गरिने अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिएका छन् ।

विराटनगरको होटल मनास्लुमा बसेको बैठकमा ६५ जना प्रदेश सदस्यले रिपोर्टिङ तथा समसामयिक विषयमा आफ्ना कुरा राखेका थिए । बैठकमा पार्टीले गरेको काम कारबाहीको समीक्षा, पार्टीको कमि कमजोरी तथा आलोचना र नेताको कार्यशैलीलाई लिएर तीब्र आलोचना भएको थियो । माओवादी प्रदेश समिति ३ सय ३१ जनाको रहेको छ ।