विराटनगर । मुख्य नेतृत्वको निरन्तरको गल्तीमा केन्द्रीय समितिका नेताहरुले सधैं समर्थन जनाउँदा पार्टी लगातार कमजोर भएको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरुले चर्को असन्तोष प्रकट गरेका छन् ।

बिहीबार विराटनगरमा सुरु भएको पार्टीको प्रदेश कमिटीको चौथो पूर्ण बैठकमा बोल्ने अधिकांश प्रदेश कमिटीका नेताहरुले पार्टीमा नातावाद, चुल्होवाद र व्यक्तिवादी प्रवृत्ति हावी भएकोले सुधार गर्नुपर्ने बताए । उनीहरुले पार्टी कमिटिको बैठक नराख्ने अनि अध्यक्ष र सचिव तथा पदाधिकारीले सबै निर्णय गर्ने गरेको भन्दै आपत्ती जनाएका थिए ।

‘पार्टी भनेको सामूहिकतामा चल्ने संगठन हो, अध्यक्ष प्रचण्डले ल्याउने जस्तोसुकै प्रस्तावमा समर्थन जनाउने केन्द्रीय सदस्यहरुले आजको अवस्थाको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’ प्रदेश कमिटीको बैठकमा एक नेताले भने ‘यदि सुरुदेखि नै प्रचण्डको कुरामा अन्धसमर्थन जनाउन बन्द गरेर छलफलको संस्कृति बसालेको भए पार्टी आजको अवस्थामा आइपुग्थेन ।’

पार्टीभित्र नातावाद र चुल्होवाद मौलाएकोमा पनि प्रदेश सदस्यहरुको ठूलो आक्रोश थियो । नेताको नजिक रहेका र नेताको परिवारभित्रका सदस्यले लगातार अवसर पाउने विषयलाई नेताहरुले ‘चुल्होवाद’ भनेर अथ्र्याएका हुन् । ‘चुनाव आयो, उम्मेद्वार छानिए । उनीहरुको नाम छान्ने विधि र प्रक्रिया के थियो ? मन्त्रीहरु छान्ने विधि के हो ? प्रदेश सरकारको मन्त्री कुन विधि र मापदण्डको आधारमा छानियो ? अरु नियुक्ति र अवसरमा जाने मापदण्ड के हो ? नेताको चाकरी गर्नुपर्ने कि आफन्त हुनुपर्ने ?’, नेताहरुले सोधेका थिए ‘यदि विधि निर्माण गरेर कमिटीगत रुपमा छलफल र निर्णय गराएको भए अहिलेको जस्तो अराजकता हुन्थ्यो ?’

पार्टीका उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की, अन्ुशासन आयोग अध्यक्ष टंक राई, लेखा आयोग अध्यक्ष पेशल खतिवडा लगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा भएको दुई दिने बैठकको पहिलो दिन रिपोर्टिङ गर्नेहरुले ठूला नेताले पार्टी बिगारेको आरोप पनि लगाएका थिए । ‘हिजोदेखि दुःख गरेर पार्टीमा खटिएकाहरु तल अझै पनि दुःख नै गरिरहेका छन्, नेतृत्वको सम्मानका लागि उत्तिकै समर्पित छन् तर नेतृत्व तह के गर्दैछ ?’ वक्ताहरुको प्रश्न थियो ‘नेताहरु नातावाद लाद्ने, नातावादभन्दा पनि चुल्होवाद लाद्न उद्यत छन् । पार्टी र आन्दोलन कमजोर हुने कारण यही हो ।’

बैठकमा बोल्ने नेताहरुले महाधिवेशनको म्यान्डेटविपरित केन्द्रीय कमिटी विस्तार भएको, कमिटी प्रणालीभन्दा व्यक्तिगत निर्णय हाबी भएको भन्दै आलोचनासमेत गरेका थिए । ‘महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन अनुमति दिएको थियो’, बैठकमा बोल्ने नेताहरुले भनेका थिए, ‘अहिले ५८८ पुगिसकेका छन् । पार्टीको आकार घटेको घट्यै हुने नेताको संख्या बढेको बढ्यै हुने अवस्था संगठनात्मक अराजकता हो । यो तत्काल अन्त्य हुनुपर्छ ।’

पार्टीमा धेरै जना पदाधिकारीहरु भएपनि अध्यक्ष एक्लै सक्रिय देखिएकोबारे पनि बैठकका सहभागीले आवाज उठाएका छन् । ‘हाम्रो पार्टीको पदाधिकारी टिम जम्बो छ । यसको अर्थ कार्य विभाजन गरेर काम होस् भन्ने हो’, सहभागीहरुको भनाइ प्रश्न थियो ‘तर, अध्यक्षले मात्र सबै जिम्मा लिएको देखिन्छ । अरु पदाधिकारी अक्षम भएर यस्तो हो कि अध्यक्षले जिम्मा नदिएको ?’

बैठकको पहिलो दिन बिहीबार ३० जनाले आफ्नो कुरा राखेका छन् । शुक्रबार २५ जनाले आफ्नो विचार राख्ने कार्यक्रम रहेको पार्टीका प्रदेश सचिव गणेश उप्रेतिले जानकारी दिए । विगतको समिक्षासहित आगामी कार्ययोजना निर्माण गरेर बैठक सकिने उनको भनाइ छ ।
माओवादी स्रोतका अनुसार चुनावी समिक्षा र आगामी योजना निर्माणका लागि बैठक आयोजना भएको हो ।