काठमाडौं । नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ।ग्यास सिलिन्डर विष्फोट भएर गम्भीर घाइते भएका नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत् मुम्बईको नेशनल बर्न सेन्टर लगिएको हो।

काठमाडौंको बुद्धनगरस्थित घरमा गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी आमासँगै घाइते भएका थिए। विस्फोटमा परी गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको उपचारका क्रममा किर्तिपुर अस्पतालमा निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले ग्याँस लिक भएपछि भण्डारीको निवासमा विस्फोट भएको देखिएको बताएका छन्।

ग्यास सिलिन्डर विस्फोट र आगोबाट जलेर घाइते भएका उनीहरु दुवैजनालाई तत्कालै कीर्तिपुर अस्पतालमा लगिएको थियो। कांग्रेसका नेता भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।