अनन्तराज न्यौपाने
देशमा रवि लामिछानेको पत्रकार–सम्मेलन प्रकरण अझै सेलाएको छैन । सामाजिक सञ्जाल र आमसञ्चारका माध्यममा यस घटना र लामिछानेका अभिव्यक्तिले चर्चा पाइरहेकै छन् । दर्शक–श्रोताले करिब पौने दुई घण्टाको लाइभ कार्यक्रम हेरेका थिए । त्यो नभ्याउनेले अझै पनि यु–ट्युवका माध्यमबाट हेरिरहेकै छन् । अधिकांश र औसत दर्शक–श्रोतालाई यो भिडिओले पर्याप्त मनोरञ्जन दिएको हुनुपर्छ । तर यो प्रकरण एउटा कस्तो मनोरञ्जनका रूपमा आएको छ भने यसले मुलुकलाई अराजकताको दिशातर्फ लगिरहेको छ । तत्कालका लागि रविले भनेका कुरा कर्णप्रिय लाग्लान्, तर उनकै अभिव्यक्ति सुनेर व्यक्तिले आफ्ना धारणा र विचार बनाउन थाले भने देश अन्यौलको भुमरीमा पर्ने कुरामा शङ्का छैन ।
कुनै पनि मुलुकमा विचार–निर्माण गर्ने दुई मुख्य तत्व हुने गर्छन् । पहिलो तत्व राजनीति र दोस्रो पत्रकारिता हो । हो, विचार–निर्माणमा यदाकदा न्यायपालिकाको योगदान पनि रहने गर्छ । तर न्यायपालिकाले दिने विचार नियमित हुँदैन । न्यायपालिकाको नेतृत्व हुँदैन । विचार–निर्माणको नेतृत्व गर्ने राजनीति र पत्रकारिता नै हुन् । हरेक लोकतान्त्रिक मुलुकमा यही अभ्यास हुँदै आएको छ । समाजलाई राजनीति र पत्रकारिताले डोहो¥यारहेको हुन्छ ।
तर आज हामी कस्तो दिनमा आइपुगेका छौँ भने राजनीतिक साख शून्यको अवस्थामा छ । नेपालका सबै प्रमुख राजनीतिक पार्टीले आफ्नो साख गुमाएका छन् । मूल्य, मान्यता, विचार, सिद्धान्त र आदर्शको स्खलनबाट सबै मुख्य राजनीतिक दल पीडित छन् । हिजोसम्म आ–आफ्नो विचार र सिद्धान्तका लागि मर्न तयार दलका नेता–कार्यकर्ता आज क्षणिक सत्ताका लागि जेजस्तो सम्झौता गर्न पनि तयार छन् । २०१७ साल पुस १ गतेका दिनदेखि ८ वर्षसम्म लगातार अकारण बन्दी बनाइएका बीपी कोइरालाले तत्कालीन राजा महेन्द्र वा वीरेन्द्रसित आधा इन्च पनि शिर निहु¥याएका भए उनी आजीवन प्रधानमन्त्री बन्न सक्ने थिए । तर बीपीले आफ्नो आस्था र आदर्शसित कहिल्यै सम्झौता गरेनन् । उनका उत्तराधिकारी शेरबहादुर देउवा शाही कालमा तत्कालीन राजा ज्ञानेन्द्रले दयामा दिएको प्रधानमन्त्री सहजै स्वीकार गर्न तयार हुन्छन् र गोर्खाली राजाले न्याय गरे भन्ने अभिव्यक्ति दिन्छन् । एमाले प्रतिगमन आधा सच्चियो भन्छ । माधवकुमार नेपाल दरबारको दक्षिण ढोकामा प्रधानमन्त्री पदको हुकुम प्रमाङ्गी माग्न निवेदन लिएर पुग्छन् । यता हिजोसम्म आफैँले सत्तोसराप गरेका ओलीसित चुपचाप–चुपचाप मिलेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनपुग्छन् । त्यसैले आजको पुस्ता राजनीतिक नेताले भनेका कुरा सुन्न र सुने पनि पत्याउन तयार छैन । यसरी राजनीतिले मुलुक र समाजमा विचार–निर्माण गर्न सकिरहेको छैन । विचारको नेतृत्व गर्न सकेको छैन ।
नेपाली जनता यति वेला देशको राजनीतिबाट बिरक्तिएका छन् । एउटा कुरा सत्य के हो भने यो विरक्ति पैदा गर्ने कामको नेतृत्व चाहिँ पत्रकारिताले नै गरेको हो । पत्रकारिता क्षेत्रले नै नेपाली राजनीतिभित्रका विकृति, विसङ्गति र कुकर्मको भन्डाफोर गरेको हो । समकालीन नेपाली राजनीति सही दिशामा छैन भन्ने बोध गराउनमा यहाँकै पत्रकारिताको हात छ । यसरी नेपाली राजनीतिको साख नगण्य भइरहेका वेला पनि मुलुक र समाजमा विचार–निर्माणको अभिभारा आमसञ्चारको क्षेत्रले लिएको छर्लङ्ग छ ।
तर आफ्नो आवेगपूर्ण पत्रकार–सम्मेलनमा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपालका मूलधारका मिडियाउपर खनिएका छन् । हिजो उनले रास्वपा दर्ता गर्दा होस् वा त्यस पार्टीबाट राजनीति गर्दा होस्, उनले मिडियाले बनाइदिएको वातावरण र धारणाकै जगमा टेकेका थिए । नेपाली मिडियाले देशका परम्परागत दललाई नङ्ग्याएका हुँदैनथे भने रास्वपाको उदय हुने थिएन । लामिछानेले मिडियाले बनाइदिएको वातावरणकै उपयोग र उपभोग गरेका हुन् । उनी आफैँ पनि हिजो सञ्चारकर्मी रहुन्जेलसम्म राजनीतिक विकृति–विसङ्गतिलाई नै आफ्नो मूल मुद्दा बनाउँथे । तर अचम्म आज उनी राजनीतिमा आउँदा चाहिँ मूलधारका मिडियाका विरूद्ध खनिइरहेछन् ।
देशमा राजनीतिक दल अनैतिक भए भन्ने भाष्यको निर्माण भइसकेको छ । यसैबिच रविको पत्रकार–सम्मेलनपछि मुलुकको पत्रकारिता पनि अनैतिक छ भन्ने भाष्यको निर्माण हुन थालेको छ । जबकि २०३६ देखि यताका हरेक परिवर्तनमा विचार–निर्माणको काम यही पत्रकारिता क्षेत्रले गर्दै आएको छ । रविले सत्तोसराप गरेको कान्तिपुरलाई २०६२–६३ को आन्दोलनमा त आठौँ दल नै भन्ने गरिन्थ्यो । साँच्चै रविले भनेजस्तै नेपाली राजनीतिजस्तै नेपाली पत्रकारिताको पनि साख छैन भन्ने भाष्यको निर्माण कथंकदाचित् भयो भने देश अराजकतामा जानेछ ।