विराटनगर । भिआइपीहरू आउँदा अक्सर गरेर विराटनगर विमानस्थलको भिआइपी कक्ष भरिभराउ हुन्थे । विमानस्थल बाहिरभित्र कहिलेकाँही उभिने ठाउँसम्म नहुने अवस्था हुन्थ्यो । स्वागतमा माला र खादाले आगन्तुक अतिथिको गला भरिन्थ्यो । फूलको बुके लिएर स्वागतका लागि लाइनमा बस्नेको कमी पनि हुँदेनथ्यो । कतिपय बेलामा नेताको पक्षमा जयजयकार गर्ने कार्यकर्ताहरु छिचोल्न जोकसैलाई मुस्किल हुन्थ्यो । तर, सोमबार अहिलेका मन्त्रिपरिषद्का चर्चित मन्त्री विराटनगर आउँदा भने दृश्य फरक देखियो ।

सोमबार विराटनगर विमानस्थलमको भिआपी कक्ष खुला थियो । भिआइपीको स्वागतमा उपस्थित भएकाहरुको हात खाली थियो । उनीहरुका हातमा न त खादा थियो न त माला वाा बुके ने । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन गर्न विराटनगर आएका थिए । उनलाई विमानस्थलका कर्मचारीहरुले स्वागत गरे । स्वागतमा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, मोरङका प्रहरीका प्रमुख दिपक पोखरेल र अन्य सुरक्षा प्रमुखहरुको उपस्थिति थियो । त्यसबाहेक केही पत्रकारहरु समाचार संकलन गर्न विमानस्थल पुगेका थिए ।

मन्त्री किरातीलाई स्वागत गर्न नेकपा माओवादी केन्द्रका कुनै पनि कार्यकर्ताहरु विमानस्थलमा गएनन् । माओवादी नेता तथा कार्यकर्ताहरुलाई पार्टी कार्यालयमा छुट्टै भेटेर उनले जनयुद्ध दिवस मनाएका थिए ।

मन्त्री किरातीले मन्त्री पदमा पदवहाली गरेकै दिन आफ्नो स्वागतमा खादा, माला नल्याउन र त्यस वापतको रकम विपन्न क्षेत्रका विद्यालयका लागि सहयोग गर्न आव्हान गरेका थिए । त्यसै कारण मन्त्री बनेपछि विराटनगरमा पहिलो पटक आएका किरातीको स्वागतमा कुनै तामझाम भएन ।

स्वागतका लागि गएका कर्मचारीहरुसँग मन्त्री किरातीले हात मिलाए र स्वागत ग्रहण गरे । त्यसपछि उनी भिआइपी कक्षमा पुगेर केहीबेर पत्रकारहरूको प्रश्नको सामना गरेका थिए । अन्य भिआइपी आउदा भन्दा फरक दृश्य देखिएपछि उनलाई पत्रकारहरुले फरक प्रश्नसमेत सोधेका थिए । अहिलेको मन्त्रीमण्डलमा तपाइँ सक्रिय पनि हुनुहुन्छ । सामाजिक सञ्जाल तथा कामको हिसाबले पनि । तपाइको सक्रियता हो कि स्टन्ट ? भन्ने प्रश्नको उनले सहज जवाफ दिए । ‘हाम्रोमा रचनात्मक काम गर्दा स्टन्ट भन्ने गरिएको छ,’ उनले छोटोमा भने ‘देशमा केही काम भएको छैन, आफ्नो जिम्मेवारी पूरा गर्दा स्टन्ट भनेर पनि भन्छन् ।’