नेपाली इतिहासलाई हल्लाउने माओवादी जनयुद्धको थालनी भएको २८औँ वर्ष प्रवेशको सन्दर्भमा त्यसलाई हेर्ने र बुझ्ने फरक–फरक दृष्टिकोण हुनु स्वाभाविक छ । दृष्टिविहीनले हात्ती चित्रण गरेको नीति कथामा झैँ त्यसबारे परस्पर विरोधी धारणो टकराइरहन्छन् । उदार पुँजीवादी कित्ताले त्यसलाई ‘आतंकवाद’ भन्थ्यो र भन्नेछ । संसदीय वामपन्थले ‘उग्र–वामपन्थ’ भन्थ्यो, त्यसै भन्नेछ । राजावादीले ‘विदेशी डिजाइन’ भन्थे, त्यसै भनिरहनेछन् । त्यसलाई नदेखेको र नभोगेको नयाँ पुस्ता अलमलमा छ । त्यसमा सहभागी भएपनि तर अहिले पुरानै शक्तिसँग सत्ता साझेदारी गरिरहेको तप्का तैँ चुप मै चुप छ । वास्तवमा त्यो जनयुद्ध के थियो ? त्यसका उपलब्धि र कमजोरी के थिए ? त्यो ऐतिहासिक प्रक्रियाको एउटा वैचारिक सिपाही र सक्रिय सहभागीको नाताले मेरा आफ्नै अनुभव र अनुभूति छन् ।

इतिहास निर्माणका अनुभूति

लेनिन भन्थे– ‘इतिहास लेख्नुभन्दा इतिहास निर्माण गर्नु बढी आनन्ददायी हुन्छ ।’ सुगौली सन्धियताको नेपालको सबभन्दा उथलपुथलपूर्ण कालखण्डको इतिहास निर्माणमा प्रत्यक्ष सहभागी हुनुको नाताले मलाई पनि त्यस्तै अनुभूति हुन्छ । मेरो अत्यन्तै विविधापूर्ण, रोमाञ्चक र क्रियाशील जीवनका विभिन्न कालखण्डमध्ये जनयुद्धको तयारी, थालनी, विकास, शान्तिप्रक्रिया, संविधान निर्माणको चरण सबैभन्दा हराभरा, उत्पादनशील र आनन्दमयी अनुभूत हुन्छ । भौतिक रूपमा पनि म अत्यन्त धेरै सपना देख्छु । सपनामा घरपरिवार आउँदैन । स्कुल–कलेज जीवन आउँदैन । देशदेशान्तर घुमेको क्षण र दृश्य आउँदैन । तर, सपनाको ९० प्रतिशतभन्दा बढी समय र घटना जनयुद्धकालमा भूमिगत जीवन बिताएको, छापामारसँग हिँडेको, वनजंगल–खोलानाला–उकाली–ओराली कुदेको दृश्यसँगै सम्बन्धित हुन्छ ।

रात्रि सपनाबाहेक निरन्तर देखिने दिवास्वप्न र आत्मालापमा पनि जनयुद्धकालीन गतिविधि, सहिद र बेपत्ता साथीको स्मरण र झझल्को आइरहन्छ । सुरेश वाग्ले र भीमसेन पोखरेल गोरखा, गाँखुको उकालो चढिरहेको । महेन्द्र श्रेष्ठ, शेरमान कुँवर र मोहनचन्द्र गौतम सिन्धुलीको अमलेमा बैठक गरिरहेको । चुनु गुरुङ रोल्पाको खरिबोटमा ‘तिमीसँग गहिरो माया बस्यो जलजला…’ बोलको गीत गाइरहेको । प्रकाश रिजाल (वसन्त) र विजय ढकाल पाल्पा रामपुरको भेलाबाट आ–आफ्ना कार्यक्षेत्रतिर लम्किरहेको । गुल्मीको इन्द्रेगौँडामा हाम्रो टिमको अकस्मात् शाही सेनासँग जम्काभेट हुँदा अँध्यारोमा जंगल–जंगल हुँदै बाग्लुङतिर लागेको । रोल्पाको मिरुलमा हामी बसेको सेल्टरमा शाही सेनाको हेलिकोप्टरले बमवर्षा गर्दा बल्लबल्ल बाँचेको इत्यादि ।

मेचीदेखि महाकालीसम्म र हिमाल, पहाडदेखि तराईसम्मका लाखौं लाख योद्धा र जनसमुदायका रगत, पसिना र आँसुले १० वर्षसम्म लेखेको इतिहास थियो, जनयुद्ध ।

विश्वको कान्छो क्रान्ति

१८औं शताब्दीमा युरोप र अमेरिकाका भीषण रक्तपातपूर्ण पुँजीवादी लोकतान्त्रिक क्रान्तिदेखि २०औँ शताब्दीको पूर्वाद्र्धमा रुस र चीनका कम्युनिस्ट क्रान्ति हुँदै सन् १९९० को दशकमा आइपुग्दा विश्वका प्रायः सबै देशमा पुँजीवादी लोकतान्त्रिक क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलन सम्पन्न भइसकेका थिए । तर, नेपालमा भने २००७ साल र २०४६ सालको आंशिक लोकतान्त्रिक क्रान्तिपछि पनि राजतन्त्र, सामन्तवाद, एकात्मक राज्यसत्ता, वर्णाश्रम व्यवस्था, पितृसत्तावाद जबरजस्त रूपमा कायमै थिए ।

मध्ययुगीन सामन्तवादका यी अवशेषलाई समूल नष्ट गरेर देशमा संघीयता र समावेशी लोकतन्त्रसहितको पुँजीवादी लोकतान्त्रिक क्रान्ति सम्पन्न नगरेसम्म देशको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको रक्षा सम्भव छैन भन्ने चेत हाम्रो पुस्ताको राजनीतिक पंक्तिमा अंकुरित भइरहेको थियो । आधुनिक नेपालका पुँजीवादी र समाजवादी कित्ताका दुई शीर्षस्थ व्यक्तित्व बिपी कोइराला र पुष्पलालको शान्तिपूर्ण आन्दोलनको बाटो देशको अपेक्षित आमूल परिवर्तनका निम्ति असफल साबित भइसकेको थियो । २०४६ पछि बिपी र पुष्पलालको बिरासतको दाबी गर्ने कांग्रेस र एमाले राजतन्त्र र पुरानो राज्यप्रणालीभित्र सहवरण र भ्रष्टीकरण हुँदै गइरहेका थिए । यो पृष्ठभूमिमा नेपाली समाज र राज्य व्यवस्थालाई जरैदेखि हल्लाएर पुँजीवादी लोकतान्त्रिक क्रान्तिलाई पूर्णता दिन माओवादी पार्टीको पुनर्गठन र २०५२ फागुन १ गतेबाट सशस्त्र जनयुद्धको थालनी भएको थियो ।

जनयुद्ध कुनै लहड वा आवेगमा सुरु गरिएको थिएन । इतिहासका विभिन्न क्रान्तिको सफलता र असफलताको अनुभवलाई संश्लेषण गरेर देशको ठोस परिस्थितिको मूल्यांकन गरेर नेपालको क्रान्तिको बाटो तय गरिएको थियो । चार–पा“च वर्षको वैचारिक, राजनीतिक, सांगठनिक र व्यवस्थापकीय तयारीपछि मात्रै सशस्त्र जनयुद्धको थालनी गरिएको थियो । २०५१ फागुनमा चितवनमा सम्पन्न पार्टीको तेस्रो विस्तारित बैठकले जनयुद्धको ठोस रणनीति र कार्यनीति निर्माण गरेपछि वर्ष दिन घनीभूत तयारीमा जुटेको मलाई स्मरण छ ।

२०५२ को असोजमा कास्की लुम्लेको उच्च पहाडको जंगलमा रहेको रिसोर्टमा बसेको पाँच सदस्यीय पोलिटब्युरो बैठकमा नेपालको क्रान्ति तीव्र गतिमा होला कि मन्द गतिमा भन्नेबारे गम्भीर बहस भयो । मैले सुरुमै आफ्नो विचार राख्दै नेपाली क्रान्ति भू–राजनीतिका कारण तीव्र गतिमा जानेछ भन्ने तर्क गरेको थिएँ । त्यसलगत्तै गोरखाको धु“वाकोटमा बसेको केन्द्रीय समितिको बैठकले जनयुद्धको थालनीको पहिलो योजना पारित गरेको थियो । बैठकमा उपस्थित सबै १९ जना केन्द्रीय सदस्यले युद्धमा मर्न पनि सकिन्छ भन्दै बैठकपछि सामूहिक फोटो खिचाएको रोचक प्रसंग सम्झना हुन्छ । आश्चर्य भनौँ, एकजना दीपेन्द्र शर्मा बेपत्ता हुनुबाहेक बा“की १८ जना १० वर्षपछि सकुशल खुला जीवनमा फर्कियौं ।
जनयुद्ध थालनीको ठोस योजना बनेपछि त्यसको आन्तरिक तयारी गर्न प्रचण्डलगायतको एउटा टिम लागेको थियो । मलगायतको अर्काे टिम खुला जनसभा गर्दै हुम्ला र कैलालीदेखि रोल्पा र गोरखा हुँदै सिन्धुली र भोजपुरसम्म दौडिएको स्मरण हुन्छ । त्यो अभियानको अन्तिम कार्यक्रमका रूपमा २०५२ मंसिर २२ गते काठमाडौंको विशाल जनसभामा मैले छिट्टै देशमा क्रान्तिको आँधीबेहरी आउँछ भन्दै गीताको यो श्लोक वाचन गरेको याद आउँछ– ‘हत्वा वा प्राप्स्यसे स्वर्गं जित्वा वा भोक्षसे महीम् । तस्माद् उत्तिष्ठ कौन्तेय युद्धाय कृत निश्चयः ।’ (मारिए स्वर्ग प्राप्त गर्नेछौ, जिते पृथ्वीको भोग गर्नेछौं, त्यसैले हे अर्जुन ! युद्धका निम्ति दृढ भएर लाग) त्यसरी नै माघ २१ गते चर्चित ४० सूत्रीय माग लिएर सिंहदरबारमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन जाँदा उनले हल्काफुल्का ढंगले मात्र लिएको कुरा अब इतिहास बनिसकेको छ ।

सबै आन्तरिक र बाहिरी तयारी सुविचारित र सुव्यवस्थित ढंगले सम्पन्न गरेर नै फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट फौजी कारबाहीसहित क्रान्तिकारी जनयुद्ध प्रारम्भको घोषणा गरिएको थियो । मेरो आजसम्मको अध्ययन र अनुसन्धानमा विश्व इतिहासका कुनै पनि क्रान्ति यति विस्तृत तयारी र योजनाबद्ध ढंगले सुरु गरिएका थिएनन् । सशस्त्र संघर्षको घोषित सुरुवात गरेपछि पनि कुनै ठूलो घटना घट्नेबित्तिकै वा प्रत्येक ३–३ महिनामा पोलिटब्युरो बैठक, ६ महिनादेखि एक वर्षभित्र केन्द्रीय समितिको बैठक, करिब २–२ वर्षमा विस्तारित बैठक वा सम्मेलन गरेर वस्तुगत तथा आत्मगत स्थितिको मूल्यांकन, नयाँ नीतिरयोजनारकार्यक्रमको निर्माण र मुक्ति वा मृत्युको संकल्पका साथ माथिदेखि तलसम्मका सबैजना आ–आफ्ना कार्यक्षेत्रमा परिचालन नभएको भए १० वर्षभित्र यति विशाल उथलपुथल सम्भव थिएन ।

नेपाल र विश्वका धेरै मानिस अझै पनि आश्चर्य प्रकट गर्छन्, २०औँ शताब्दीको अन्त्य र २१औँ शताब्दीको सुरुमा ‘माक्र्सवाद’ र झनै त्यसको सबभन्दा र्याडिकल रूप ‘माओवाद’को नाउ“मा त्यत्रो आन्दोलन कसरी भयो ? धेरैले नबुझेको वा बुझ्न नचाहेको सबभन्दा ठूलो रहस्य यहीँनेर छ । म, प्रचण्ड र किरणबीचको निरन्तर त्रिपक्षीय वा द्विपक्षीय संघर्ष र एकताको मूल अन्तरवस्तु पनि यसैभित्र छ । यो गहन विषयमा अन्यत्रै कुनै वेला विस्तारमा चर्चा गर्नु उपयुक्त हुनेछ । बुझाइका गम्भीर भिन्नताका बाबजुद हामी तीनैजनाको व्यवहारतः क्रान्ति र परिवर्तनप्रतिको निष्ठा र तीनै जनाको फरक–फरक, तर पूरक क्षमताका कारणले जनयुद्धकालभर हामीबीच संघर्षसहितको एकता नै मुख्य पाटो रह्यो । प्रचण्डको चातुर्य र व्यवस्थापकीय क्षमता, किरणको निष्ठा र सदाचार, सायद मेरो वैज्ञानिकता र सार्वजनिक छविको कुल योगले जनयुद्धरूपी रेलको भरपर्दाे इन्जिन बन्यो र त्यसले सबै डिब्बालाई राम्ररी तान्यो ।

फेरि पनि यो सैद्धान्तिक प्रश्नले जनयुद्धलाई के असर पार्यो त ? भन्ने प्रश्न बाँकी नै रहन्छ । क्रान्ति भनेको अन्ततः सिद्धान्त र व्यवहार, विवेक र आवेग, विज्ञान र कला, रणनीति र कार्यनीति, राष्ट्रिय र अन्तर्राष्ट्रिय, वैधानिक र अवैधानिक, हिंसा र अहिंसा, सूक्ष्म र स्थुल आदि भिन्न प्रवर्गको योग रहेछ । त्यसैले हामीले जनयुद्धलाई सुरुदेखि अन्त्यसम्म समग्र युद्धका रूपमा परिभाषित र कार्यान्वयन गर्यौं ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित ४० सूत्रीय मागपत्र नै व्यवहारतः जनयुद्धकाल र शान्तिप्रक्रियासम्म पनि समग्र आन्दोलनको आधारपत्र रह्यो । त्यहाँ कुनै ‘माक्र्सवाद’ र ‘माओवाद’का अमूर्त सैद्धान्तिक कुरा थिएनन् । त्यसमा सबै वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका माग थिए । त्यसको सारमा पुँजीवादी लोकतान्त्रिक क्रान्तिको पूर्णता थियो । त्यसैलाई क्रान्तिको विकाससँगै विकसित र परिमार्जित गर्दै लगिएको थियो । २०५७ फागुनको दोस्रो राष्ट्रिय सम्मेलन हुँदै २०६२ मंसिरको १२ बुँदे समझदारीसम्म पुग्दा जनयुद्धको तत्कालीन लक्ष्य, नीति र कार्यक्रम निर्वाचित संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने र सोहीअनुरूप राज्यको अग्रगामी पुनर्संरचना गर्ने तहमा पुगेको थियो । त्यसैलाई हामीले नेपाली सन्दर्भको नया“ जनवादी क्रान्ति भनेर अथ्र्याएका थियौं ।

इतिहासका प्रत्येक क्रान्तिझैँ माओवादी जनयुद्ध पनि विभिन्न नाटकीय मोड र भीषण आन्तरिक संघर्षबाट गुज्रिएको थियो । नेपालको सन्दर्भमा लामो समयदेखि कायम रहेको राष्ट्रियता र लोकतन्त्रमध्ये कुनलाई प्रधानता दिने भन्ने मुद्दा पटक–पटक बल्झिएर आउँथ्यो । त्यसको व्यावहारिक अभिव्यक्ति देशमा त्रिपक्षीय राजनीतिक खिचातानी भएका वेला राजतन्त्र र संसदवादी दल (मुख्यतः कांग्रेस र एमाले)मध्ये कोसँग कतिवेला कति टाढा र कति नजिक हुने भन्ने रूपमा प्रकट हुन्थ्यो । म सुरुदेखि फ्रान्सेली क्रान्तिबाट प्रभावित रहेको र सामन्ती निरंकुश राजतन्त्रको समूल अन्त्य भएर गणतन्त्र संस्थागत नभएसम्म नेपालमा लोकतन्त्र, संघीयता, समृद्धि, समाजवाद केही पनि प्राप्त हुँदैन भन्ने दृढ विश्वासमा हुन्थे । राजावादी शक्तिले पञ्चायतकालदेखि लोकतान्त्रिक शक्तिलाई ‘अराष्ट्रिय तत्व’ र ‘भारतीय दलाल’ भन्दै जनतामा भ्रम छर्ने प्रयास गरेझैँ जनयुद्धकालभर र शान्ति प्रक्रियापछि पनि ममाथि विशेष आक्रमण भइरह्यो । कम्युनिस्ट आन्दोलनभित्रका केशरजंग रायमाझी प्रवृत्तिबाट ग्रसित मानिस र राजनीतिको जटिलताबाट बेखबर पछिल्लो पुस्ताका युवासमेतले हावैहावामा राजावादीको त्यो अनर्गल दुष्प्रचारमा स्वर मिलाए ।

२०५७ सालमा ‘प्रचण्डपथ’ बन्यो । २०६० सालमा निकै मिहिनेत गरेर ‘२१औँ शताब्दीमा जनवादको विकास’ भन्नेसम्म पुर्याइयो । तर, ०६१ भदौको फुन्टिवाङ बैठक र माघको लावाङ बैठकसम्म पुग्दा त्यो पूरै उल्टिएर शून्य बन्यो । त्यतिवेला मलगायत साथीलाई निःशस्त्र पारेर ज्यानैसमेत जोखिममा पारेको घटना इतिहासमा दर्ज छ । यी आन्तरिक संघर्षका बाबजुद हामीले बाह्य राजनीतिक र फौजी संघर्षलाई निरन्तर अघि बढायौं । सुरक्षा दल र लडाकु दलबाट सुरु भएको जनमुक्ति सेना ब्रिगेड र डिभिजन तहसम्म पुग्यो । स्वतन्त्र पर्यवेक्षककै अनुमानअनुसार पनि झन्डै ८० प्रतिशत ग्रामीण इलाका पुरानो सत्ताविहीन बने । ‘संयुक्त क्रान्तिकारी जनपरिषद्’को रूपमा समानान्तर क्रान्तिकारी सत्ताको अभ्यास गरियो । अर्काेतिर पुरानो राजतन्त्रात्मक संसदीय सत्ता निरन्तर संकटमा रह्यो । २०५८ जेठको नारायणहिटी हत्याकाण्ड र २०६१ माघ १९ को ‘कु’पछि राजतन्त्र आफैँ विघटनको डिलमा पुग्यो ।

२०६१ चैत २४ को खारा आक्रमण सफल पारेर शक्ति प्रदर्शनसहित ज्ञानेन्द्रसँग सम्झौता गर्ने पार्टीको योजना पूरा भएन । यही पृष्ठभूमिमा माओवादी र संसद्वादी दलले सहकार्य गरेर राजतन्त्रविरुद्ध संघर्ष गर्ने प्रयासले २०६२ मंसिर ७ गते १२ बुँदे समझदारीको रूप लियो । त्यसपछि शृंखलाबद्ध रूपमा भएको ०६२–६३ को संयुक्त जनआन्दोलन, ०६३ मंसिर ५ गतेको बृहद् शान्ति सम्झौता, ०६४ चैत्र २८ गतेको संविधानसभा निर्वाचन, ०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको घोषणा र २०७२ असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भयो । यसरी विश्व इतिहासको कान्छो क्रान्ति आफ्नै मौलिकता, उपलब्धि र कमी कमजोरीसहित सम्पन्न भयो । यो सम्पूर्ण प्रक्रियामा सुरुदेखि अन्त्यसम्म शीर्षपंक्तिमा रहेर सक्रिय भूमिका निर्वाह गर्न पाएकोमा मलाई असीम गौरवको अनुभूति हुन्छ ।