विराटनगर । भव्य सांगितिक कन्सर्टसहित विराटनगर– ५ स्थित एभरेष्ट स्कुल तथा कलेजले आयोजना गरेको तीन दिने कार्निभल सम्पन्न भएको छ ।

२७ गतेदेखि सुरु भएको कार्निभलको आज अन्तिम दिन गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा, गायीका रचना रिमाल र लोक गायिका अन्जु गौतमसँगै एभरेष्टका विद्यार्थीहरुले विभिन्न प्रस्तुति राख्दै उपस्थित सबैलाई नचाएका थिए । ‘माया रैछ र त भर रैछ नी’, ‘निरा जैले रिसाउने’ ‘इन्स्टाको फोटो’ ‘जुनी काट्छु भन्थ्यौं नि म सँग’ ‘अजम्बरी लाउँला पिरती’ लगायतका आधा दर्जन बढी गित गाएर उपस्थित विद्यार्थी अभिभावक शिक्षक तथा अतिथिहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

गायक कालिप्रसादले गित गाईरहँदा एभरेष्ट कलेजकी छात्रा सृष्मा काफ्लेसँगै ‘डोयड’ गाउँदा विद्यार्थी तथा अभिभावक निकै हौसिएका थिए । विद्यार्थी काफ्लेले आफुसँगै गाउने विद्यार्थीको प्रतिभा देखेर हर्षिद भएको भन्दै पढाईका अतिरिक्त कृयाकलापलाई महत्व दिने विद्यालयलाई नै रोज्नुपर्ने बताए ।

यस्तै गायिका रचना रिमालले ‘फोटो फ्रेममा’ ‘उनको प्रिती’‘सुनन पियारी, भनन पियारा’‘चाहन्छु माया बढोस्’ ‘सम्झिने पानी छम्किने’लगायतका आधा दर्जन भन्दा बढी गित गाएका थिए ।गायीका रिमालले स्टेजबाट ओर्लीएर दर्शक दिर्घामा रहेका विद्यार्थी र अभिभावकका बिचमा पुगेर गित गाउँदा सबै हर्षिद भएका थिए ।

लोक गायिका अञ्जु गौतमले पूर्वी लोकभाकाका गित संगीत पस्कदै उपस्थितलाई मनोरञ्जन दिलाएकी थिइन । समारोहमा रमाइरहेका कक्षा १२ का विद्यार्थी प्रणम्य उप्रेतीले कार्निभलले मनोरञ्जनसँगै धेरै नयाँ कुरा सिक्ने सिकाउने अवसर प्रदान गरेको बताए ।

यस्तै कक्षा १२ कै विद्यार्थी अनन्त देव र रिया कार्कीले कार्निभल निकै रमाइलो भएको भन्दै यसले आफु भित्र रहेका प्रतिभा देखाउने, तथा विद्यार्थीहरु भित्रका क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताए ।

यस्तै कक्षा ९ की विद्यार्थी पूर्णीमा विश्वास र कृषा कार्कीले मनोरञ्जनका साथै इनोभेसनहरुको प्रदर्शनीबाट धेरै कुरा सिक्न पाएको बताए ।

समापन कार्यक्रमकी प्रमुख अतिथी विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले एभरेष्ट स्कुलले शैक्षिक क्षेत्रको योगदानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन । शैक्षिक संस्थाहरु बाह्य मुलुकका लागि पनि शैक्षिक गन्तव्य बन्न सक्नुपर्ने उनको तर्क थियो । अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरण भएका विद्यालयहरु बिदेशका विद्यार्थीको रोजाईमा पर्ने वातावरणको सृजना गर्न आग्रह गरिन ।