काठमाडौं। नेपाल सरकारले विदेशस्थित विभिन्न मुलूकमा रहेका नेपाली दूतावासमा श्रमिकहरूका लागि हेल्पडेस्क राख्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष निर्देशन र पहलपछि मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो।
प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो। विभिन्न मुलूकमा कार्यरत श्रमिक एवं कामदारहरूको समस्या सम्वोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको हो।माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीहरूलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौं झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारहरूका समस्या सम्वोधनका लागि डेस्क राख्न निर्देशन दिएका थिए।
त्यसैगरी परराष्ट्र मन्त्रालयमा समेत श्रमिकका समस्या समाधानार्थ समन्वय गर्न छुट्टै ‘डेडिकेटेड फोकल प्वाइन्ट’ तोकी कार्यारम्भ गर्ने निर्णय भएको छ। यसबाट विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिकहरूका समस्या तत्काल सम्बोधन हुने अपेक्षा गरिएको छ।

