विराटनगर । नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) उषा नेपाल हुन् । ३२ वर्षअघि २०४७ फागुनमा उनी भक्तपुरको सिडिओ बनेकी थिइन् ।

नेपाल ललितपुर, पर्सा, बाँके, सोलुखुम्बु र मुस्ताङसमेतको प्रमुख जिल्ला अधिकारी भइन् । उनीपछि प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्लाको प्रशासनिक नेतृत्वको अवसर पाउने महिला कमै मात्र थिए ।

प्रचण्ड नेतृत्वको सरकार आएपछि पछिल्लो पटक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा र पदस्थापन हुँदा सरकारले एकैपटक ९ जिल्लामा महिलालाई सिडियो बनाएर पठाएको छ । जसमध्ये ४ जना प्रदेश १ मा छन् ।अहिले सुनसरी, ताप्लेजुङ, ओखलढुंगा र धनकुटा महिलाले प्रशासनिक नेतृत्व सम्हालेका छन् । प्रमुख जिल्ला अधिकारीको छनौटमा क श्रेणीमा पर्ने जिल्ला सुनसरीमा पहिलो पटक महिला सिडिओ रुपमा हुमकला पाण्डे आएकी छन् ।

यसअघि भक्तपुर तथा काभ्रेमा प्रमुख जिल्ला अधिकारी रहिसकेकी पाण्डेले अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको छत्रदेव माध्यमिक विद्यालयबाट एलएलसी उत्तीर्ण गरेर त्रिचन्द्र कलेजबाट स्नताकत्तोर गरेपछि प्राध्यापन गरेकी थिइन् । २०६० सालदेखि ३ वर्षसम्म त्रिचन्द्रसहित अन्य कलेजमा पनि पढाएपछि उनले २०६३ सालमा शाखा अधिकृत पास गरिन् ।

२०६८ सालमा उपसचिवमा नाम निकालेकी उनले दक्षिण कोरियाबाट कृषि विषयमा स्नातकोत्तर पनि गरेकी छन् । उपसचिब बनेको ७ वर्षपछि २०७५ सालमा सहसचिवमा नाम निकालेकी उनका ३ दिदीबहिनी सबै जागिरमा छन् ।
लोकसेवाका सबै परीक्षाहरू खुलाबाट पास गरेकी पाण्डेले अहिले शान्तिसुरक्षा र सिमा अपराधको कारण चुनौति रहेको मानिएको जिल्लाको नेतृत्व गर्दैछन् ।

उता पहाडी जिल्ला ओखलढुंगाको नेतृत्व मधेशकी छोरीले प्रदर्शनीकुमारीले प्रमुख जिल्ला अधिकारीको रुपमा गर्दैछन् । उनी मधेशी समुदायबाट सीडीओ बन्ने पहिलो महिला पनि हुन् । नेपाल सरकारको उपसचिव उनी नेपाली सेनाका जागिरे बुबा रामअयोध्या प्रसाद कलवारको प्रेरणाले अध्ययनपछि सरकारी सेवामा प्रवेश गरेकी हुन् ।

२०६२ सालमा निजामती सेवामा जागिर शुरू गरेकी प्रदर्शनीकुमारी शाखा अधिकृत बनेकी थिइन् । उनी २०६९ सालमा उपसचिव भइन् । राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी रहिसकेकी उनी पहिलो पटक सिडिओ भएकी हुन् ।

‘जिल्ला प्रशासन कार्यालय सबै ठोक्किने ठाउँ भएकाले गुनासा पनि धेरै आउँछन्,’ उनी भन्छिन्, ‘शान्ति सुरक्षा कायम गर्ने जिम्मा भएकाले पनि अन्यभन्दा सोचनीय हुनुपर्ने अवस्था छ ।’अहिले धनकुटाको प्रशासनिक नेतृत्व सम्हालेकी लीलाकुमारी केसी पाण्डे पनि उपसचिव हुन् । उनी यसअघि रामेछापको प्रमुख जिल्ला अधिकारी रहिसकेकी छन् ।

ओखलढुंगामा जन्मिएकी केसीले आधारभूत तहको पढाइ पनि त्यहीँबाट गरेकी थिइन् । बुवा खड्गबहादुर खत्री ओखलढुंगा गाउँ पञ्चायतका प्रधानपञ्च रहेकै कारण उनले पढ्ने अवसर पाएकी थिइन् ।

घरमा ६ जना दिदीबहिनी र २ दाजुभाइमध्ये उनी कान्छी हुन् । उनका २ दिदीहरू पनि सरकारी सेवामै छन् । ठाइँली र काइँली दिदी सरकारी जागिरमा छन् । काइँली रेनुका केसी सबइञ्जिनीयर भएर पुरातत्व विभागमा कार्यरत छन् भने ठाइँली शकुन्तला केसी जाल्पा माध्यमिक विद्यालय ओखलढुंगाकी शिक्षिका हुन् ।

केसीले स्नातक सक्ने बित्तिकै २०५९ सालमा अधिकृतमा नाम निकालेकी थिइन् । निजामती सेवामा प्रवेश गरेको २० वष पुरा भएको छ । उनले यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटन कार्यालय नाम्चे सोलुखुम्बु, सामान्य प्रशासन मन्त्रालय, योजना आयोगमा बसेर काम गरेकी थिइन् ।
२०७४ सालदेखि गृह मन्त्रालयमै रहेकी केसी पहिलो अनुभव नभएकाले प्रमुख जिल्ला अधिकारीको रुपमा काम गर्न कुनै अफ्ठेरो नहुने बताउँछिन् । लैंगिकताभन्दा पनि क्षमताले काम गर्ने भएकाले पुरुष र महिला भन्न नहुने उनको तर्क छ ।

पहाडी जिल्ला ताप्लेजुङले पनि पहिलो पटक महिलालाई प्रमुख जिल्ला अधिकारी पाएको छ । यसअघि भोजपुर र सिन्धुपाल्चोकको सिडिओ रहिसकेकी गोमादेवि चेम्जोङ ताप्लेजुङको प्रशासनिक नेतृत्व सम्हाल्न पुगेकी छन् ।

जिल्लामा सिडिओ देख्दा सेवाग्राही पनि खुशी हुने गरेको उनी बताउँछिन् । व्यावसायिक दक्षतालाई कायम गर्दै महिलाले इमानदारीपूर्वक काम गर्छन् भन्ने देखाउने महिला सिडिओहरूको भनाइ छ । महिला तथा बालबालिकाका र समस्यामा परेकाहरुको पिडा महिलाले समाधान गरिदिने विश्वास नागरिकमा रहेको पाइन्छ ।