विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुल तथा कलेजले आयोजना गरेको एभरेष्ट कार्निभल २०७९ को अवलोकन गर्ने अभिभावकहरुले प्रशंसा गरेका छन् ।
विद्यालयभित्रको क्रियाकलाप मात्रै नभएर एभरेष्ट कार्निभल भव्य समारोह बराबर रहेको अभिभावकहरुको भनाइ छ ।स्कूलका अभिभावक रुपेश खतिवडाले कार्यक्रम भव्य रहेको बताए । यस्तै अर्का अभिभावक सुरेन्द्रमणि मण्डलले विद्यालयले आयोजना गरेको यो कार्यक्रम विशेष रहेको बताए ।

कलेज परिसरको एउटा क्षेत्रमा भव्य औपचारिक कार्यक्रम भइरहँदा कतिपय अभिभावक र विद्यार्थीहरुको समूह भने बाहिरपट्टि भएका स्टलका प्रदर्शनी हेर्न, अनुहारमा चित्र बनाउन, विभिन्न परिकारहरु खान, पुस्तकहरु छान्न ब्यस्त रहेका थिए । विज्ञानका विभिन्न परियोजना तयार पारेर प्रदर्शनीमा राख्ने विद्यार्थीहरु आफ्ना प्रोजेक्टहरुका बारेमा अवलोकन गर्नेहरुलाई बुझाइरहेका थिए ।

कार्निभलको दोस्रो दिन कक्षा ६ देखि १२ कक्षासम्मका अभिभावक तथा विद्यार्थीको सहभागितामा अभिभावक दिवस पनि मनाइयो । कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, तथा बाद्यवादन, तथा संस्कृति झल्कने विभिन्न कृयाकलाप प्रस्तुत गरेका थिए ।

सो अवसरमा प्रदेश १ का सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले एभरेष्ट स्कुलले शिक्षा क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताए । उनले एभरेष्ट स्कुल र सोलुखुम्बुको माउण्ट एभरेष्ट बोर्डिङ स्कूलबीच सहकार्य गर्नसमेत प्रस्ताव राखेका थिए ।

एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले प्रविधि, शीप र संस्कारलाई एकसाथ अवलम्बन गर्दै एभरेष्ट अघि बढेको बताए । कार्निभलमा आइतबार विद्यार्थी कलाकारहरुका साथमा राष्ट्रिय कलाकार कालिप्रसाद बाँस्कोटा, अस्मिता अधिकारीलगायतको सांगितिक प्रस्तुतीसँगै समापन हुनेछ ।