विराटनगर । प्रदेश १ का मन्त्रीहरू भएपछि उनीहरू अनुगमन गर्न लर्को नै लागेर जान थालेका छन ।शुक्रबार एक संघीयमन्त्री प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रीहरूले मेची अस्पतालको अनुगमन गरेका छन् ।

उपप्रधानमन्त्रीसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्देन, प्रदेश १ का मुख्यमन्त्री हिकमत कुमार कार्की, प्रदेश १ कै स्वास्थ्य मन्त्री निर्मला लिम्बू र उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले संयुक्त अनुगमन गरेका हुन्।

अनुगमन गर्दै मुख्यमन्त्री कार्कीले मेची अस्पताललाई मेडिकल कलेजका रूपमा विस्तार गर्ने बताएका छन । उनले अस्पतालको बेड संख्या भने चाँडै थपिने आश्वासनसमेत दिएका छन् ।हाल २ सय बेड यस अस्पतालमा रहेका छन् ।

यस्तै ऊर्जामन्त्री लिङ्देनले भने आईसीयू एनआईसीयूका बेडहरू विस्तार गरेर बिरामीलाई सहज उपचार गराउन निर्देशन दिएका छन् । मन्त्रीहरू बिजनेसविहीन भएपछि अनुगमन गर्न लर्को लगाएर गएका हुन्।

अनिश्चितकाका लागि संसद् समेत स्थगन भएपछि मन्त्रीहरू थप फुर्सदिला भएका हुन् ।

प्रदेश १ को प्रदेशसभाको सातौँ बैठक सम्म सरकारले बिजनेस दिएको छैन । जसका कारण प्रदेशसभाको अर्को बैठक अनिश्चितकाका लागि स्थगित भएको हो । माघ २४ गते सातौँ बैठक बसेर अनिश्चितकाका लागि बैठक स्थगित गरिएको थियो ।

पुस ३० मा उपसभामुख चयन गरेपछि बिजनेस नभएकै कारण प्रदेशसभा अनिश्चितकालीन स्थगन भएको थियो।त्यसको २२ दिनपछि बसेको बैठकले प्रदेश निजामती सेवा अध्यादेश स्वीकृत गरेको थियो।

पुस २५ मा मुख्यमन्त्रीका रूपमा हिकमत कार्कीले शपथ लिएका थिए। सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका उनले पुस २९ मा थप मन्त्री नियुक्त गरेका थिए। अहिले मुख्यमन्त्रीसहित प्रदेश १ को मन्त्रिमण्डल ७ सदस्यीय छ ।