विराटनगर । चौतर्फी आलोचना भएपछि विराटनगर महागनरपालिकाले बहुप्राविधिक शिक्षालयको निर्देशक पदको विज्ञापन रद्द गरेको छ ।
महानगरकै एक अवकाशप्राप्त कर्मचारीलाई अधिकृत दशौं तह सरहको निर्देशक पदमा नियुक्ति गर्ने योजना अनुसार योग्यता र सर्त राखेर विज्ञापन गरेपछि सर्वत्र आलोचना भएको थियो ।
महानगरले सो पदका लागि ४५ वर्ष पूरा भई ६० वर्ष ननाघेको व्यक्ति हुनुपर्ने न्यूनतम योग्यता तोकेको थियो । यस्तै नेपाल सरकारको शिक्षा सेवा तर्फ राजपत्रांकित द्वितीय वा सो सरहको पदमा सात वर्ष भन्दा बढी काम गरेको व्यक्तिले मात्र आवेदन दिन पाउने व्यवस्था गरी विज्ञापन खुलाएको थियो ।
विराटनगर महानगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् को साझेदारीमा सञ्चालनमा रहेको महानगर बहुप्राविधिक शिक्षालयको निर्देशकको लागि माघ २३ गते १५ दिने सूचना प्रकाशित गरिएको थियो । स्रोतका अनुसार महानगरको शैक्षिक महाशाखा प्रमुखबाट हालै अवकाश पाएका दुर्गाप्रसाद खतिवडालाई निर्देशक नियुक्त गर्ने योजनासहित उनकै योग्यता बमोजिमका प्रावधान राखेर महानगरले विज्ञापन आव्हान गरेको थियो ।
त्यस विषयमा हाम्रोमत दैनिकले समाचार प्रकाशन गरेको गरेको थियो भने नागरिक तहबाट पनि चर्को आलोचना भएपछि महानगर विज्ञापन रद्द गर्ने निर्णयमा पुगेको हो । खतिवडालाई नै निर्देशक नियुक्त गर्ने योजनासहितको योग्यता राखेर विज्ञापन प्रकाशन गर्नु गलत हुने महानगरको कर्मचारील संयन्त्रले सुझाव दिएपनि महानगर प्रमुख नागेश कोइरालाको चर्को दबाबमा सूचना प्रकाशन गरेको एक कर्मचारीले बताए ।


