काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् ।

आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री रावलले आफूलाई विश्वास मत प्राप्त होस् भनेर छलफल गर्न राखेको प्रस्ताव नै प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको हो ।

मुख्यमन्त्रीले विश्वासको मत माग्ने सम्बन्धि प्रस्ताव छलफलमै जान नसकेकोले विश्वासको मत लिने प्रस्ताव मतदानमा लैजानै परेन । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले आजसम्म विश्वासको मत पाइसक्नुपर्ने संबैधानिक व्यवस्था थियो ।

जेलभित्र रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित अन्य जनाको जेलमुक्तिको सर्त पुरा गर्न सत्तागठबन्धनले नसकेपछि सरकार नै ढलेको हो । विश्वासको मत माग्ने प्रस्ताव नै अस्वीकृत भएको कारण प्रदेश सरकार ढलेको यो पहिलो घटना हो ।

एमाले, माओवादी, नाउपा र राप्रपाको समर्थनबाट २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिने बिहीबार अन्तिम दिन थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् । नागरिक उन्मुक्ति बैठकमै सहभागी भएन । सरकारलाई बहुमतका लागि २७ मत आवश्यक पर्‍थ्यो ।

गत पुस २७ मा सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि एमाले संसदीय दलका नेता रावललाई समर्थन दिएको नागरिक उन्मुक्तिका सांसद आजको बैठकमा सहभागी नै भएनन् ।