काठमाडौं । राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन्।
बुधबार भएको उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार दसौदीले ४०२६ मतभार प्राप्त गरे। उनले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी कुल ४ हजार २६ मतभार प्राप्त गरेका थिए । नेपाली कांग्रेसका माधवप्रसाद आचार्यले ३७ सय २० मतभार प्राप्त गरेका छन् ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन्। लुम्बिनी प्रदेशमा कुल मतभार ७००९ रहेको थियो। प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको थियो।
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए।
प्रदेश सभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुख हरेकको मतभार १८ हुने गर्छ।
रूपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी भइनन्। उनी बिरामी भएका कारण छिमेकी देश भारतमा उपचारको लागि गएको स्रोतले बताएको छ। सिंह नेपाली प्रगतिशील पार्टीबाट निर्वाचित भएकी थिइन्।

