काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिकालाई बलात्कार गरेको आरोप लागेका मनोजकुमार जैसी (मनोज पाण्डे)लाई जिल्ला अदालत काठमाडौंले सात वर्ष कैद सजाय सुनाएको छ।
जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले माघ १० गते नै जैसीलाई दोषी ठहर गरेको थियो । तर आज सजाय भने आज मात्रै तोकीएको छ । । बलात्कारको अभियोगमा हदम्याद गुज्रिएपछि जैसीलाई बाल यौन दुरुपयोग र मानव बेचविखन विरुद्धको कसूर लगाइएको थियो।
अदालतका सूचना अधिकारी दीपक दाहालले मानव बेचबिखन विरुद्धको कसूरमा जैसीलाई सात वर्ष कैद, ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने र एक हजार तीन सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको बताए।
जैसी ‘मिस ग्लोबल इन्टरनेशनल’ नामक सौन्दर्य प्रतियोगिताका आयोजक हुन्। सन् २०१४ को सौन्दर्य प्रतियोगितामा सहभागी एक बालिकालाई ‘सक्सेस पार्टी’ दिने भन्दै जैसीले नयाँ बानेश्वरको एभरेस्ट होटलमा बोलाएर बलात्कार गरेको अभियोग लागेको थियो। त्यतिखेर आफू नाबालिग नै भएको र त्यस घटनापछि विक्षिप्त भएको भन्दै गत जेठमा ती मोडलले टिकटकमा २२ वटा भिडिओ क्लिप सार्वजनिक गरेकी थिइन्।
भिडिओ सार्वजनिक भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भेटेर जोहेरी दिन भनेको थियो। त्यसपछि जैसी अनुसन्धानमा तानिएर पक्राउ परेका थिए। तर, आठ वर्षअघिको घटना भएकाले बलात्कार अभियोगमा मुद्दा भने प्रहरीले चलाउने सकेन।
मुलुकी अपराध संहिता अनुसार, बलात्कार कसूरमा घटना भएको एक वर्षभित्र उजुरी दिनुपर्ने व्यवस्था छ। मानव बेचबिखनमा हदम्यादको तगारो छैन।
आफूमाथि भएको घटना आयोजकलाई सुनाउँदा बेवास्ता गरेकाले पनि समयमै न्याय खोज्ने आँटमा आघात पुगेको ती युवतीले भिडिओमा बताएकी थिइन्। घटनापछि आफू विक्षिप्त बनेको तथा जैसीले यो विषय बाहिर ल्याएमा ज्यान मार्ने धम्की दिएकाले समयमै उजुरी दिन नसकेको युवतीले खुलाएकी थिइन्।
प्रहरीले जैसीलाई गत जेठ ७ गते पक्राउ गरेको थियो। उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्। जिल्ला अदालतको फैसलासँगै उनले सात वर्ष कैद भोग्नुपर्नेछ।