विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिएको भन्दै महांसघले समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको जनाएको छ ।

आइतबार पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाएको भन्दै महासंघले धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जनाएको छ ।

‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठन र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ ।’