विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको काज सरुवा भएको छ । मोरङ प्रहरी प्रमुख भएर आएको १० महिनापछि कोइरालाको काज सरुवा भएको हो । कोइराला गत चैत १४ गते काज सरुवा भएपछि मोरङ आएका थिए ।

प्रहरी प्रधान कार्यालयले बिहीबार निकालेको काज सरुवामा कोइरालाको काठमाण्डौं प्रहरी प्रधान कार्यालयमा काज सरुवा भएको हो ।

मोरङ प्रहरी प्रमुख भएर एसपी दीपक पोखरेल आउने भएका छन् । पोखरेल १ नं। प्रदेश प्रहरी गण विराटनगरको प्रमुख रहेका थिए । उनको काज सरुवा मोरङ प्रहरी भएको हो । डिएसपी रहँदा पोखरेल मोरङ बसेका थिए ।

करिब आठ महिना मोरङमा प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा कोइराला विवादरहित प्रहरी अधिकृतको छवि बनाउन सफल भए । उनको नेतृत्वमा भएका सबै अनुसन्धानमा मोरङ प्रहरीले सफलता हात पार्न सक्यो । मोरङमा रहँदा जघन्य प्रकृतिका अपराधको अनुसन्धान, हतियार एवं लागुऔषध कारोबार, मानव बेचबिखन, चोरी–तस्करी र विभिन्न खालका अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन सफल एसपीका रूपमा कोइरालाले छुट्टै पहिचान बनाउन सके ।

उत्कृष्ट कार्यक्षमताकै कारण प्रहरीमा इच्छाशक्ति हुँदा समाजमा हुने जुनसुकै अपराधलाई पनि कानुनको दायरामा ल्याउन सकिन्छ भन्ने छाप छोड्न उनी सफल भएका छन् । काम कारबाहीका सिलसिलामा कुनै पनि लोभ लालचमा नपरी र राजनैतिक दबाबको प्रवाह नगरीकन कानुन कार्यान्वयनलाई ध्यान दिएर अपराध एवं अवैध गतिविधिमा सम्झौता नगर्ने स्वभाव कोइरालालाई सफल बनाउने मुख्य कडी हो ।

आइपरेका जुनसुकै समस्यालाई पनि सहज ढङ्गबाट समाधान गर्ने बाटो पहिल्याउन सक्ने क्षमताका एसपी कोइरालाले समाजलाई अपराधरहित बनाउन प्रहरीको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने मान्यता स्थापित गराएका छन् । उनको कार्यकालमा प्रहरी र नागरिकबिचको सम्बन्ध सुधारले पनि उचाइ प्राप्त गर्न सक्यो ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठको पनि काज सरुवा भएको छ । उनको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु सरुवा भएको हो । पहाडी जिल्लाको प्रमुख डिएसपीको दरबन्दी रहेको छ । श्रेष्ठ सोलुखुम्बुको प्रमुख भएर जाने भएका हुन् । उनी मोरङ प्रहरीमा झन्डै १८ महिना बसेका थिए । प्रवक्ताका रूपमा श्रेष्ठको कार्यकाल मोरङमा सफल भएको मानिन्छ ।

वडा प्रहरी कार्यालय विराटनगर ‘क’ को डिएसपी दीपेन्द्र पन्जियारको पनि काज सरुवा भएको छ । उनको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय विपद् अभिलेख तथा विश्लेषण शाखा सामाखुसी, काठमाण्डौं सरुवा भएको हो । उनको ठाउँमा डिएसपी विजय श्रेष्ठ आउने भएका छन् । श्रेष्ठ प्रहरी निरीक्षक रहँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख रहेका थिए । प्रहरी निरीक्षक रहँदा मोरङ ट्राफिक प्रमुख भएपछि इलाका प्रहरी कार्यालय पथरीमा पनि बसेका थिए ।