विराटनगर। नेपाल आयल निगमले चोरीको इन्धन किन्ने दुई वटा पेट्रोल पम्पमाथि १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
निगमले बुधबार जारी गरेको विज्ञप्तिमा सप्तरीको शम्भुनाथ नगरपालिका १ स्थित भण्डार आयल स्टोर र कसरा गाउँपालिकास्थित दिलिप ट्रेडर्सले ट्यांकर चालकसँगको मिलोमतोमा डिजेल खरिद गरेकोले कार्वाही गरेको जनाएको छ ।
निगमको करार सम्झौतामा सञ्चालित ढुवानीकर्ता गुणराज निरौलाको नाममा रहेको को १ ख ३६५५ नम्बरको ट्यांकरबाट इन्धन चोरी भएको थियो । निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगञ्जवाट २० हजार लिटर डिजेल लोड गरी प्रादेशिक कार्यालय, विराटनगरको नाममा स्टक ट्रान्सफर गरिएको उक्त ट्यांकर इलाका प्रहरी कार्यालय रुपनीभन्दा करिब २ किलोमिटर उत्तरतर्फ कच्ची सडकमा माघ १४ गते फेला परेको थियो ।
ट्यांकरमा लोड गरिएको डिजेल अवैध रुपमा बिक्री गरी वेवारिसे अवस्थामा फेला परेपछि प्रहरी प्रशासन र निगमबाट स्थलगत अध्ययन एवं अनुसन्धान गर्दा अवैध रुपमा इन्धन बेचिएको खुलेको थियो । निगमको अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ लोड लिई निगमले तोकेको स्थानसम्म सुरक्षित साथ ढुवानी नगर्ने चालक र सहचालकलाई भविष्यमा पेट्रोलियम पदार्थको ढुवानी कार्यमा संलग्न हुन नपाउने प्रतिबन्ध लगाइको छ ।
ढुवानीकर्तालाई निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ बमोजिम तीन महिना ढुवानी कार्यबाट निलम्बन गर्ने निर्णय पनि निगमले गरेको छ।

