विराटकालीन दुई पोखरी पुनर्निर्माण गर्न ठेक्का

विराटनगर । विराटनगरको विकासमा महत्वपूर्ण मानिएका प्रमुख चारवटा परियोजना निर्माण गर्न विराटनगर महानगरले ठेक्का प्रक्रिया अघि बढाएको छ । तीमध्ये दुई परियोजना विराटराजाको इतिहाससँग सम्बन्धित छन् ।

विराटकालीन सभ्यता र राजा विराटको इतिहाससँग जोडिएका दुई पोखरीको संरक्षण तथा पुर्ननिर्माण गर्न दश करोडमा निर्माण कम्पनीलाई स्विकृति दिइएको हो । विराटनगर महानगरपालिका वडा नम्बर १४ स्थित रानी पोखरी र सोही वडाको मन्टा पोखरी संरक्षणसहितको कार्य अब अघि बढ्ने भएको छ । दुबै पोखरीमा हरियाली पार्कसहितका संरचना निर्माण हुनेछन् ।

विराट दरबार क्षेत्रलाई संरक्षण गर्न र सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन पूर्वमेयर भीम पराजुलीको पालामा विस्तृत परियोजना प्रतिवेदन तयार भई बजेटसमेत विनियोजन भएको थियो । ती काम थाल्न ठेक्का दिने कार्य अघि बढाइएको विराटनगर महानगरपालिका कार्यालयले जनाएको छ ।

रानी पोखरी ग्रीनपार्क निर्माण गर्न विराटनगरको कला विल्डर्सले कवोल गरेको चार करोड ५४ लाख ७६ रुपैयाँ र सोही विल्डर्सले मन्टा पोखरी ग्रीनपार्कमा कवोल गरेको पाँच करोड ४४ लाख २८ हजार स्विकृत भएको हो । महानगरले सोही क्षेत्रमा पर्ने विराट राजाको दरबार संरक्षण, आधुनिकीकरण र पर्यटकीय गन्तब्यस्थल बनाउन विस्तृत परियोजना प्रतिवेदन मेयर पराजुलीकै पालमा तयार गरिसकेको छ । विराट दरबार उत्खनन्सहित यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश एक सरकारले समेत चासो दिँदै आएको छ । “हाम्रो पालामा महानगर र प्रदेश सरकारले सँगै कसरी काम गर्न सकिन्छ भनेर पनि छलफल भएको थियो,” पूर्वमेयर पराजुलीले भने ।

विराटनगरको सिंघिया तटमा साँझको सन्ध्या आरतीस्थल निर्माण गर्न अभियान÷दिविसा जेभी नागार्जुन–९ काठमाडौ÷विराटनगर–७ ले तीन करोड ५० लाख ९३ हजार स्विकृत भएको छ । पूर्वमेयर पराजुलीले पशुपतिनाथ मन्दिरमा जस्तै सन्ध्या आरती गराउँदा विराटकालिन इतिहास बोकेको विराटनगरमा धामिर्क पर्यटकको संख्या बढ्ने अपेक्षासहित आफूले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको बताए ।
आरती स्थल निर्माण गर्न आवरण मेटल इन्जिनियरिङ कन्ट्रक्सन प्रा.लि. भरतपुर, ब्राइट बुल निर्माण सेवा, धरान–१३ सुनसरी, अभियान÷दिविशा जेभी नागार्जुन–९ काठमाडौ र कला विल्डर्स विराटनगरको बोलपत्र प्राविधिक मूल्यांकनमा पर्न सफल भएका थिए । आरतीस्थल विराटनगर– २ स्थित हनुमान मन्दिर नजिकै सिंघिया घाटमा निर्माण हुनेछ ।

प्राविधिक शिक्षा दिलाउन शुरु गरिएको महानगर वहुप्राविधिक शिक्षालयको संरचना निर्माण गर्न श्रीबस्नेत/श्रेष्ठ आरके जेभी विराटनगरले सात करोड ८९ लाख ४२ हजार १०५ रुपैयाँमा ठेक्का प्राप्त गरेका छन् । यो संरचना विराटनगर– ५ मा निर्माण हुनेछ । अहिले जनता विद्यालयको भवनमा महानगरको प्राविधिक शिक्षालय संचालनमा छ ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा २७(२) बमोजिम महानगरले सार्वजनिक गरेको सूचनामा जनाईअनुसार विद्युतीय माध्यमबाट पर्न आएको बोलपत्रमध्येबाट न्यूनतम मूल्याङ्कित कम्पनीलाई निर्माण स्विकृति प्रदान गरिएको हो ।

बुधबार, १८ माघ, २०७९, बिहानको ०७:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर