तुरुन्तै मध्यावधितिर जानुपर्ने अवस्था आउनसक्छ : गोकुल बाँस्कोटा

विराटनगर । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्रको भद्रगोल हुने बताएका छन् ।

नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बाँस्कोटाले नेपालको राजनीतिक अवस्था षड्यन्त्रदेखि षड्यन्त्रसम्म र गठबन्धनदेखि गठबन्धनसम्म भएकाले एमालेका उम्मेदवारलाई माओवादीले सघाउने दाबी गरेका छन् ।

सभामुख र राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएकाले माओवादीले नैतिकताका आधारमा सघाउनुपर्ने उनले बताए ।

‘बीचमा आएर राजनीतिक परिवर्तन हुन्छ भने एउटाको मात्रै भद्रगोल हुन्छ भन्ने छैन,’ उनले भने, ‘देशकै भद्रगोल हुन्छ ।’ सधैं षड्यन्त्रको राजनीति गरेर कहीँ पनि नपुगिने भएकाले परिवर्तनको बाटो रोज्नुपर्ने उनको तर्क रहेको छ । अब राजनीतिक कोर्स परिवर्तन गर्न नहुने नेता बाँस्कोटको भनाइ छ ।

नेपालमा राजनीतिक कोर्स परिवर्तन गर्न यस्तो बाह्र–सत्ताइस खेल भयो भने देश दुर्घटनातिर जाने सम्भवना रहेको उनले बताए । ‘देश तुरुन्तै फेरि मध्यावधितिर जानुपर्ने अवस्था पनि आउन सक्छ,’ उनले भने, ‘त्यसलै दलहरूले चेत्नुपर्छ ।’

अहिले राजनीतिक दलहरूले चेत्नुपर्ने बेला आएको उनले बताए । चुनावको परिणामलाई हेर्दा कसैको बहुमत नआएकाले अब दलहरूले चेत्नुको विकल्प नै नरहेको नेता बाँस्कोटाले बताए ।

सोमबार, १६ माघ, २०७९, दिउँसोको ०१:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर