जय प्रकाश आनन्द
जाडोले मधेसका केही जिल्लाहरूमा स्कूलहरू बन्द भए । फेरि पनि बन्द हुनसक्छन् । केही गरिब तथा बिपन्नहरूको मृत्यु भयो । मृतकको संख्या बढ्न पनि सक्छ । मधेसमा अप्रत्यासित रूपमा पहिलो पटक यो मौसम आएको होईन, यो अपवादको जाडो हैन । मधेसमा पहाडी क्षेत्रहरूको भन्दा भिन्न शितलहरसहितको कडा जाडो वर्षेनी भइरहन्छ । हरेक वर्ष जाडोको याममा मानिसहरूको मृत्यु पनि भइरहन्छ । तत्काल यसबारे चर्चा हुन्छ, फेरि कुरा सेलाएर जान्छ ।
हरेक वर्षको जाडोमा गरिबहरू नै किन मर्छन् ? नेपालमा मात्र होइन, सीमावर्ती भारतमा पनि गरिबहरूको मृत्यु भएको सुनिन्छ । बंगलादेश, पाकिस्तान तथा दक्षिण एसियाका अन्य मुलुकहरूमा पनि । यो मुलतः प्रतिकूल मौसमको मार मानव शरीरले थाम्न नसकेको हो कि गरिबीसँग पनि यसको कुनै सम्बन्ध छ ? गत वर्ष सार्वजनिक भएको सरकारी तथ्यांक अनुसार मधेस प्रदेशको बहुआयामिक गरिबीको दर ४७.८९५ पुगेको छ । यस वर्ष संभवतः यसमा अझ केही बृद्ध भएको हुनुपर्छ । मलाई लाग्छ, प्रायः हरेक वर्ष मधेसमा तथा देशमा हुने गरेको जाडोबाट भएको मृत्यु भनिएको र बढ्दो गरिबीबीचको सम्बन्धबारे विमर्श हुनुपर्छ । यो गम्भीर बिषय हो, यसबारे गम्भीरताका साथ बहस हुनुपर्छ ।
‘गरिबी’ र ‘अकाल’ का बारेमा नोवेल पुरस्कारबाट सम्मानित अमत्र्य सेनले धेरै लेखेका छन् । उनको प्रसिद्ध पुस्तक “poverty and famines” मा नोबेल पुरस्कार पाएका अर्थशास्त्री अमत्र्य सेनले जर्ज वर्नाड शाँले लेखेको एक मर्मस्पर्शी प्रसंगको उद्धरण दिएका छन् । शाँले आफ्नो कृति ‘म्यान एण्ड सुपरम्यान’ मा आयरिश अमेरिकी पात्र मेलोन (Malone) मार्फत घतलाग्दो चर्चा बढाएका छन् । पात्रको रूपमा मेलोन अप्रवासी अमेरिकी थिए । जो, आयरल्याण्डबाट अमेरिका आएका थिए । मेलोनले अर्का पात्र व्यायलेटलाई सोध्छन्, सन् ४७ को भयानक भोकमरीमा मेरो पिताजी मर्नु परेको बारे तिमीले सुनेका थियौं ?
व्यायलेटः अ ! त्यो ठूलो अकाल ?
मेलोन : अकाल हैन क्या, भोकमरी !
उनी सम्झाउँदै भन्छन्: जब कुनै देशमा प्रचुर खाद्यान्न हुन्छ । त्यस देशले निर्यात पनि गरिरहेको हुन्छ, वा त्यस देशले पर्याप्त मात्रामा अनाजको आयातसमेत गरेको हुन्छ । यस्तोमा त्यहाँ अकाल त हुन्न नि ! तैपनि मेरो पिताको भोकमरीले मृत्यु भयो । भोककै सामना गर्न नसकेर म आफ्नो देश परित्याग गरी अमेरिका आएको हुँ, बुझ्यांै ?
यसरी मेलोनले व्यायलेटलाई भोकमरी र अकालबीचको फरक सम्झाएको थियो । अमत्र्य सेन राज्य नियन्त्रित अवितरणमुखी राज्य व्यवस्थाको दोष केलाउन सक्ने खप्पिस अध्येता हुन् । यिनलाई पढेर समुन्नत मुलुकहरूले ब्यहोर्नु परेको भोकमरी, अकाल र जाडोबाट मर्नु परेकाहरूको परिस्थिति बुझ्न सकिन्छ ।
मानव शरीरले १०.१३ डिग्रीमा झरेको तापक्रम र चिसो शितलहरलाई थाम्न नसक्ने होइन । तरपनि मानिस मरिरहेका हुन्छन् । अहिलेको जाडोमा मधेसको सप्तरी सिरहातिर धेरै मानिस मरिरहेका छन् ।
केही अपवादबाहेक गर्मी र चिसो जस्ता मौसमी दुर्दान्ताले लोककल्याणकारी समाजहरूमा मानिस मर्दैनन् । जिम्मेवारी विहिन र लोककल्याणकारी नीतिका बिरोधी राज्यमा मात्र यस्तो मृत्युहरू हुन्छ । न भए संसारको मानचित्रमा साइवेरिया र अन्टार्कटिकाहरू प्राग ऐतिहासिक कालदेखि नै मानवविहीन हुन्थ्यो । जर्मनीको म्युनिख र बेलायतको लण्डन जस्ता शहरहरू हरेक वर्षको जनवरीमा चिसोले मरेका मानिसहरूको लम्पसार कब्रिस्तानमा रूपान्तरित हुनेगथ्र्याे । तर, त्यसो हुदैन ।
काठमाडौ उपत्यका र मधेसी बजारका सडक पेटीमा लगाईने हङकङ बजारहरूमा जताततै सस्ता कपडाहरू बिक्रीमा राखिएको पाइन्छ । सय ढेड सय रूपैयाँसम्ममा जीऊ छोप्ने लुगाहरू पाइन्छ । निर्वस्त्र निर्धन गरिबहरूका लागि यस्तो लुगा जीवनरक्षक हुनसक्छ । तर, सरकारद्वारा यस्ता बस्त्रहरू बितरण गरिदैन । स्वायत्त शासनको अभ्यास गर्न तम्सेर बसेका नवनिर्वाचित स्थानीय प्रतिनिधिहरूको जनकल्याणकारी प्राथमिकतामा यो कार्य पर्दैन । धर्मान्ध समाजको गाँस पुर्याउन दशैंको मुखमा सरकारी अनुदानबाट करोडौं करोडको भेडा च्यांग्रा झिकाउने सरकार सस्तो दामको लुगाफाटो झिकाएर गरिब गुरूवाको बस्तीमा वितरण गर्दैन ।
संसार साक्षी छ, औपनिवेशिक भारतको बंगालमा सन् ४३ को अकाल, सन् ७३–७५ मा इथोपियाको अकाल, अफ्रिकी साहेल क्षेत्रको सन् ७० को दशकको अकाल, यस्तै सन् ७४ मा बंगलादेशको अकालहरूमा भएको लाखौंका मृत्युहरूका लागि तत्ठाँउहरूका राज्य व्यवस्थाको जनअहितकारी, अकल्याणकारी राज्य सोच र नीति निर्माताहरू जिम्मेवार रहे । सबै सभ्य मुलुकहरू, उत्तरदायी अन्तर्राष्ट्रिय संघसंस्थाहरू, शोधकर्ताहरूले यस तथ्यलाई स्वीकारेका छन् । यसका बावजुद पनि आज दशकौं पछि नेपालमा वर्षमा एकपटक फगत २–४ सय रूपैयाँको कपडा लत्ता नपाएर देशको जनता मर्नु परिरहेको छ । र, हामी जाडो बढ्यो, शीतलहर बढ्यो भनेर बसेका छौं !