विराटनगर । पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले प्रदेश १ को पर्यटन विकास गर्न ठूला आयोजनामा ध्यान दिनु पर्ने बताएका छन् । मन्त्रालयमा सोमबार कर्मचारीहरुलाई निर्देशन दिने क्रममा मन्त्री आचार्यले प्रदेशको विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका हुन् । पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालयले ‘मेघा प्रोजेक्ट’ र प्रदेश गौरवका आयोजना बनाएर अगाडि बढ्नु पर्ने आचार्यले बताए ।
पर्यटकहरुलाई ल्याउन पर्यटकीय स्थलहरुको निर्माण अनिवार्य रहेको भन्दै उनले पर्यटकीय केही ठूला पर्यटकीय केन्द्रको अवधारणामा काम गर्नुपर्ने बताए । ‘काठमाण्डौमा आएका मध्ये केही पर्यटकहरुलाई प्रदेशमा ल्याउन पहल गर्नु पर्ने विषय यहाँ प्रस्तुत गरियो तर पर्यटक यहाँ किन आउँछन्,’ मन्त्री आचार्यले भने ‘हामीले त्यस्तो के बनाएका छौं र उनीहरु हाम्रो प्रदेशमा घुम्न आउँछन् रु त्यसैले मेघा परियोजनाको तयारी थाल्नुस् ।’ प्रदेशले तयार गरेको मेघा पर्यटन परियोजनाको प्रस्ताव संघीय सरकार समक्ष प्रस्तुत गरेर महत्वपूर्ण काम अगाडि बढाउन पहल गर्ने बताए ।
राज्यले शिक्षा, कृषि र पर्यटन क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको पनि उनले बताए । प्रदेश सरकारले बनाउने पर्यटनका योजनाका लागि बजेट माग गर्न आफूले पुलको काम गर्ने भन्दै नयाँ योजना निर्माणमा लाग्न कर्मचारीहरुलाई निर्देशन दिए ।

पर्यटन क्षेत्रको विकास सरकारी पहलबाट मात्र सम्भव नरहेको भन्दै उनले निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए । ‘प्रदेश पर्यटन विकास बोर्ड र निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्दै काम गर्न म तयार छु ।’

वन क्षेत्रको विकास र सदुपयोग सँगै बहुमूल्य जडिबुटीहरुको उत्पादन, प्रशोधन र निर्यातको क्षेत्रमा पनि प्रदेश सरकारले योजनाबद्ध ढंगबाट काम अगाडि बढाउनु पर्ने मन्त्री आचार्यले बताए । उनले भने ‘संघीय सरकार काम गर्न तयार भएर आएको छ र हामी पनि यहाँ काम गर्नै भनेर आएका छौं, त्यसैले यो प्रदेश संरचना आवश्यक छ भने प्रमाणित गर्ने गरी सबै मिलेर काम गरौं, हामी सबै परिवारका सदस्य भएर यो प्रदेशको विकासका निमित्त इमान्दार भएर लागिपरौं ।’

मन्त्री आचार्यले सुशासन र भष्टाचार न्यूनीकरण आजको आवश्यकता भएको भन्दै कर्मचारी र राजनीतिज्ञ दुवै तर्फ सुद्धिकरण गर्न जरूरी भएको पनि बताए । कर्मचारीहरुको समस्याहरुका बारेमा आफूलाई थोरबहुत जानकारी रहेको भन्दै उनले कर्मचारीहरुको वृत्ति विकास र सेवा सुविधाका लागि सदैव सकारात्मक रहने भन्दै त्यसका लागि कर्मचारीले पनि क्षमता प्रदर्शन गरेर काम गर्नु पर्ने बताए ।

परिचय कार्यक्रममा मन्त्रालयका सचिव संजीव राईले वन तथा वातावरण मन्त्रालयबाट सञ्चालन भइरहेका कार्यक्रम, संगठनात्मक संरचना, समस्या र आगामी दिनमा गर्नुपर्ने कामहरुको बारेमा जानकारी गराए । यस्तै साविकको पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव सुरेश न्यौपानेले पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकारले सञ्चालन गरिरहेका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा पूर्व उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले शासन प्रणाली र कर्मचारी प्रशासन आदिका विषयमा जानकार रहेकोले मन्त्रालयले आगामी दिनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने बताए । उनले सबै कर्मचारीले मन्त्रीलाई इमान्दारिताका साथ सहयोग गर्नुपर्ने बताए ।