विराटनगर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीविरूद्ध सोमबार अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आधिकारिक निकायबाट प्राप्त नभएको ओहदा पाएको भन्दै प्रोफेसर पदको दुरुपयोग गरेकोले मुद्दा दायर गरिएको हो । उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा बद्नियतसाथ कुनैपनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाएँ प्रोफेसर पद प्रयोग अख्तियारको दुरुपयोग भएको उनीविरुद्ध दायर अभियोगपत्रमा उल्लेख छ ।
निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय मागदावी गरिएको अख्तियारले जनाएको छ । यस्तै सोही ऐनको दफा २४ बमोजिमको थप सजाय समेतको माग दावी लिइएको अख्यिारले जनाएको छ ।
उक्त दफामा भपाएको ओहोदा पाएँ भन्नेलाई एक वर्षदेखि २ वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । यस्तै अख्तियारले गिरी सार्वजनिक संस्थाका पदाधिकारी रहेकाले यस कसुरमा थप ३ वर्ष कैद गर्न माग गरेको छ ।
गिरिलाई सहयोग गरेको भन्दै मतियारको रुपमा विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । प्रोफसर पदको अनुमोदनको लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा उनले नियुक्ति दिएको आधारमा गिरीले नपाएको ओहदा प्रयोग गरेको र उक्त कार्यमा कार्कीले मतियारको भूमिका खेलेको अख्तियारको आरोप छ।
कार्कीलाई मतियारको भूमिका रहेको देखिएको हुनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवम् भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

