विराटनगर । विराटनगरबाट ५० किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् ।

शनिबार बेलुका बसपार्कबाट ५० केजी गाँजा सहित मोरङ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालिका–४ का ४४ वर्षीय यज्ञप्रसाद राई र टेम्पो चालक मोरङ बुढीगंगा बस्ने ४६ वर्षका रोहितकुमार थापा रहेका छन् । को २ ख २४२२ नम्बरको टेम्पोमा रायोको साग र तेजपत्ता अनलोड गर्दै गरेको अवस्थामा गाँजा बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले साग र तेजपत्ताको तीन वटा बोराभित्रबाट गाँजा बरामद गरेको हो । मोरङमा प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार बरामद गाँजा धनकुटाबाट ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लागूऔषध ओसारपसारको कसुरमा प्रहरीले उनीहरूलाईलाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि लागुऔषध ओसारपसारको कसुरमा मुद्दा चलाउने तयारी भईरहेको मोरङ प्रहरीले जनाएको छ ।