पछिल्लो केही सातायता सर्वसाधारण ठगिएका समाचारले सन्चारमाध्यम भरिएका छन् । सुन पसलका सञ्चालकले अवैध रुपमा बैकिङ कारोबार गरेर सर्वसाधारणलाई ठगेका घटना बाक्लै आइरहेका बेला मोरङ र झापाका दर्जनौं युवाहरु वैदेशिक रोजगारीका नाममा ठगिएको अर्को घटना बाहिर आएको छ । एकै जनाबाट १८ लाख रुपैयाँसम्म लिएर विदेश पठाइदिन्छु भन्ने व्यक्ति नै फरार भएपछि यतिबेला दर्जनौं युवा ऋणमा डुबेका छन् । विदेश जाने भनेर यहाँ गरिरहेको काम पनि छाडेका युवाहरु एकातिर कामविहीन बनेका छन् भने अर्कातिर घरखेत बन्धकी राखेर ऋणमा डुबेका छन् । आफ्नो डुबेको रकम फिर्ता पाउन उनीहरु प्रहरी र प्रशासन धाइरहेका छन् । ठगीमा परेकाहरुलाई न्याय दिलाउन ठगलाई कारवाहीको दायरामा ल्याउन प्रशासन सक्षम हुनुपर्छ ।
जापान जाने र त्यहीँ काम गर्दै भविष्य बनाउने सपना देखेर एजेन्टलाई ठूलो रकम बुझाएका धेरै युवा यतिबेला पैसा फसेर बिचल्लीमा परेका छन् । युवाहरुबाट पैसा असुल्दै ठगीधन्दा चलाउँदै आएका व्यक्तिको धन्दाबाट पीडित भएकाहरुले आफूहरुलाई न्याय दिन राज्य गुहारेका छन् । एकपछि अर्को ठगीधन्दा बाहिर आइरहेको बेला यो प्रकरणमा भने समाजका शिक्षित युवाहरु नै फसेको देखिएको छ । मोरङको सुनवर्षी नगरपालिका – ३ भेलाहीका ३६ वर्षीय मदनकुमार राजवंशी पेशाले शिक्षक थिए । विराटनगरको एक निजी विद्यालयमा पढाउने उनलाई आफ्नै साथीले ठगेका छन् । उनका साथी सुनवर्षी ३ का ३६ वर्षीय अजय राजवंशीले जापानमा मासिक साढे २ लाख रूपैयाँ कमाइ हुन भन्दै लोभ देखाए । जापानको कम्पनीमा ‘म्यानेजर’ पदमा लगाइदिने र त्यसका लागि १६ लाख रुपैयाँ लाग्ने बताए । उनले पैसा बुझाए तर जापान जान पाएनन् ।
यसरी शिक्षित युवाहरु ठगीमा परेको घटना आश्चर्यजनक छ । सुन पसको ठगीमा पर्नेहरु अधिकांश निरक्षर थिए । धेरै ब्याजको लोभमा शिक्षितहरु नै पनि परे । तर, जापान प्रकरणमा त मोरङका ४० र झापाका एक जना गरी ४१ जना युवाहरू ठूलो ठगीमा परेका छन् । विदेश जाने निश्चित विधि र प्रक्रिया हुन्छ । शिक्षितहरुले कम्तीमा यसबारे जानकारी राख्नुपथ्र्यो । फेरि जापान जत्तिको मुलुक जाने भनेपछि सजिलै जान नपाइने, त्यहाँको नियम र प्रक्रिया पूरा गर्नुपर्ने सामान्य ज्ञानबारे चासो राख्नुपथ्र्यो । तर, रोजगारी अभावले पिरोलिएका युवाले आँखा चिम्लेर विश्वास गर्दा ठगले फन्दामा पारेको देखिएको छ । उनीहरुलाई न्याय दिने दायित्व राज्यको हो ।
समाजमा ठगीका अनेकौं उपाय लगाउनेहरुको संगठित धन्दा चलेको देखिएको छ । कतै ब्याजको लोभमा, कतै रोजगारीको बहानामा सर्वसाधारण ठगिने क्रम रोकिएको छैन । अवैध रुपमा नेटवर्किङ धन्दाको जालो पनि फैलिरहेकै छ । मिटर ब्याजको कहरले पिरोलिन बाध्य हुनेहरुको संख्या कम भएको छैन । पीडितहरु थपिने क्रम जारी छ । यसरी अनेक बहानामा सर्वसाधारणको घरखेत नै गुम्ने, जिन्दगी नै ध्वस्त हुने गरी ठगीमा पर्ने चक्रको अन्त्य गर्न राज्य कठोर बन्नुपर्छ । अन्यथा समाजमा ठगहरुको जगजगी चल्ने निश्चित छ ।