विराटनगर । प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित झापाकी इन्दिरा राना मगर राजनीतिमा जोडिएको तीन महिनाभित्रै उपल्लो तहमा पुग्न सफल भएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद राना काँग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै उपसभामुख चुनिएकी हुन् । ५२ वर्षिया रानामगरलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो । रानामगर मंसिर ४ गतेको चुनावपछि मात्र राजनीतिमा होमिएकी हुन् ।
कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय तथा शिक्षा दिन उनी ३३ वर्षदेखि सक्रिय छिन् । उनी त्यस्तै हालका दुई हजारभन्दा बढी बालबालिकाकी आमासमेत हुन् । बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष रानाको संस्थाले काठमाडौं, भक्तपुर, झापालगायतका जिल्लामा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन गरिरहेको छ ।
२०२७ असार १८ गते झापाको शनिश्चरेमा जन्मिएकी राना मगर गरिबीका कारण ढिलोगरी मात्रै स्कुल जान थालेकी थिइन् । १० वर्षको उमेरमा एकैपटक कक्षा ५ बाट शुरु भएको उनको शैक्षिक यात्रा २०५३ मा स्नात्तक तहसम्म उक्लियो। त्यसयता आफ्नो समाजसेवाका माध्यमबाट चिनिएकी उनी राजनीतिमा प्रवेश गर्नासाथ उपसभामुख बन्न सफल भएकी छन् ।
कलेज तहको पढाइ पूरा गरे पछि शिक्षण कार्यमा संलग्न हुदै गर्दा साहित्यकार पारिजातसँग भेट भएपछि उनको सामाजिक कामको सुरुआत भएको थियो । आमासँगै जेलमा थुनिन बाध्य भएका बालबालिकाको शिक्षादिक्षा र उनीहरुको आश्रय दिने काममा सक्रिय उनले ३३ वर्षदेखि सो काम गर्दै आएकी छन् । अहिलेसम्म उनले दुई हजारभन्दा बढी बालबालिकालाई शिक्षा र आश्रय दिएकी छन् ।खासगरी जेलका बालबालिका र महिलाको सम्पूर्ण हित तथा कल्याणकारी कार्यहरुमा लागेकै कारण उनको फराकिलो पहिचान बनेको हो । त्यसैको आडमा उनलाई राजनीतिमा डोर्याएको हो ।
अशोका फेलो २००५ रहेकी उनी एसिया २१ योङ्ग लिडर पब्लिक सर्भिस अवार्ड २००९, वल्ड चिल्ड्रेन प्राइज अनररी अवार्ड २०१४, बी बी सी उत्कृष्ट १०० महिला २०१७, लगायत दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान र पुरस्कारहरुबाट सम्मानित भइसकेकी छन् ।उनी अध्यक्ष रहेको बन्दी सहायता नेपाल गैर नाफा मूलक, गैर राजनैतिक, एउटा गैर सरकारी सामाजिक संस्था हो । काठमाडौंको साँखुमा कच्ची घर सहितको ६ रोपनी १ आना जग्गा खरिद गरि हाल उक्त जग्गामा यो संस्थाले नयाँ ५ वटा पक्की घर तथा जुनकिरी स्कुल दर्ता गरी संस्था आफैले संचालन गरेको छ ।
सो बालगृहमा ८४ जना बालबालिकाले सुरक्षित आश्रय लिइरहेका छन् । उक्त बालगृहमा देशका विभिन्न जेलमा बन्दी जिवन बिताइ रहेका आश्रित छोरा छोरीहरुलाई उद्घार गरी शिक्षाको लागि संस्था आपैmले संचालन गरेको स्कुलमा १२० जना बच्चाहरुलाई पढाउने गरेको छ ।
झापाको खुदनावारीमा बालगृहको लागि करिव दुई विघा जग्गा खरिद गरी त्यसमा नयाँ पक्की घर वनाई बालगृह स्थापना गरेको छ । साथै बुट्टाबारीमा डेड कठ्ठा जग्गामा एउटा छुट्टै जुनकीरी पुस्तकालय तथा जुनकीरी प्राथमिक विद्यालय, मनमाया बालगृह र जङ्गल गार्डेन बालगृह संचालन गरेको छ ।

