विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी श्याम लाल ज्ञवालीले प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउँदै सुशासन कायम गराउन खरो रूपमा उत्रिने प्रतिबद्धता जनाएका छन् ।

१ नं.प्रदेश प्रहरी कार्यालय प्रमुख भएर कार्यभार समालेको भोलिपल्ट डिआइजी ज्ञवालीले बिहीबार आयोजना गरिएको संसारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रम बोल्दै उनले शान्ति सुरक्षा सुव्यवस्थापन कायम गर्दै अपराध नियन्त्रणमा लागि पर्ने बताएका हुन् ।

शून्य सहनशीलता अपनाउने सुशासन कायममा आफू लागि पर्ने उनले बताए । घटित अपराधको सफल अनुसन्धान गर्दै पुरानो पेन्डिङ मुद्दाको फर्छौड, फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने पहिलो प्राथमिकता रहेको उनले बताए । ‘अदालतको फैसला कार्यान्वयनमा प्रहरी संगठन लागि पर्नेछ,’ उनले भने, ‘अपराध गरेर फरार भएका प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरमा ल्याउनेछौँ ।’लागू औषधबाट हुने अपराध रोकथाम र नियन्त्रणमा पनि लागि पर्ने बताए । चाँडै तराइको झापा, मोरङ, सुनसरी र उदयपुरको जिल्लाहरूमा लागू औषध विरुद्धको अभियान सुरु गर्ने उनले बताए । उनले प्रदेश सरकारसँग समन्वय गरी शान्ति सुरक्षा कायम गराउँदै आम नागरिकको भरोसाको केन्द्र प्रहरी संगठन बनाउन लागि पर्ने बताए । प्रहरी सङ्गठनभित्र शुद्धीकरण अभियान सँगै प्रहरीको मनोबल बढाउने काममा पनि ध्यान दिने उनले बताए ।

प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई मातहतका प्रहरीलाई निर्देशन दिए । उनले कानुनको परिधिमा रहेर जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न लागिपर्ने बताए ।ज्ञवाली सरुवा भएर बुधवार मात्र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आएका हुन् । ज्ञवाली प्रहरी निरीक्षक रहँदा २५ वर्ष अगाडी इलाका प्रहरी कार्यालय रंगेलीको प्रमुख पनि भएर बसेका थिए ।

विशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरूमा अनुसन्धानको नेतृत्व गरेका छन् ।