विराटनगर ।  देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा बिहीवार भएको मत विभाजनमा १६७ मत प्राप्त गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।

उनको विपक्षमा १०० र १ मत दिन्न भन्ने पक्षमा परेको थियो । घिमिरेलाई उनकै दल नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले मत दिएका थिए । ।

अन्य ३ स्वतन्त्र सांसदको मत समेत उनको पक्षमा पर्दा नेपाली कांग्रेस, नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चाले भने घिमिरेलाई मत दिएन्न ।

ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका वडा नं ३ मा २०१३ सालमा उनको जन्म भएको थियो । घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कूलबाट प्रारम्भिक शिक्षा लिएका थिए पछि ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कूलबाट २०२९ सालमा एसएलसी उत्तीर्ण गरेका उनले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईए र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातकसम्मको अध्ययन पूरा गरे ।

२०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा आएका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके) गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका थिए।

२०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगी संगठन निर्माणमा खटिएका उनले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए ।

२०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेका घिमिरे २०३५ साल पुस ११ गते कम्युनिस्ट घटकहरू मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक बनेका थिए।

२०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख बनेका घिमिरे २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरणपछि सम्पन्न नेकपा ९एमाले०को पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए।

२०५० सालमा नेकपा एमालेको मेची अञ्चल इञ्चार्ज बनेका घिमिरे २०५८ सालमा पार्टीको केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज भएका थिए।

त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्जसमेत भएका थिए।

०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष बनेका उनी २०७८ सालमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज भएका थिए।

भूमिगत राजनीतिमा होमिएका उनको राजनीतिक गतिविधि नियन्त्रण गर्न पञ्चायत सरकारले पटक–पटक पक्राउ गरेको थियो।

घिमिरे महाकाली सन्धि पारितका लागि पार्टी (एमाले)भित्र निर्णायक मत दिने नेता थिए ।२०५६ सालमा राष्ट्रियसभा सदस्य बनेका उनी २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।