कारागारमा अभिषेक गिरीको ताडण्व

  पुण्य पी अधिकारी

नेपालका कारागारभित्र राजनीतिक पहुँच भएका कैदीहरूले राजनीति गर्नु सामान्य विषय हो । राजनीतिको आडमा राज्यको नियन्त्रणमा भएका कैदीहरूले कारागारमा विभिन्न समयमा अनेक ताडण्व देखाएका छन् । तिनै ताडण्व देखाउने मध्येमा एक विराटनगर महानगरपालिका–११ का अभिषेक गिरी पनि हुन् । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरीरहेका गिरीले अहिले पुनः मोरङ कारागारमा लफडा सुरू गरेका छन् । डिल्ली बजार कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा ०७८ भदौ १७ गते तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडको ठाडो निर्देशनमा मोरङ कारागार सरूवा गरिएपछि कारागारभित्र रहेका कैदी तथा बन्दीहरूले गिरी विरूद्ध नाराबाजी गरेका थिए । गिरीले कारागारभित्र चन्दा आतङ्क मच्चाउने र चन्दा दिन नसक्नेहरू शारीरिक र मानसिक यातना दिने गरेको आरोप छ ।

डिल्ली बजार कारागारबाट गिरीलाई मोरङ कारागार ल्याउने क्रममा कारागारभित्र विद्रोह भएको थियो । कारागारकै संरक्षणमा अन्तत कारागार ल्याइएका गिरीको पुनः गृह मन्त्रालयले सरूवाका लागि पुस २९ गते भिमफेदी कारागार हेडौडा सरूवाका लागि कारागार प्रशासनलाई पत्र पठाएपछि गिरीले पुनः राजनीतिक हतियारले मोरङ कारागारमा भाँडभैलो मच्चाउन थालेका छन् ।माघ ३ गते कारागारभित्र रहेका कैदी तथा बन्दीहरूले “मोरङ कारागारमा ठूल्दाई अभिषेक गिरीको विकल्प छैन, ठूल्दाइको सरूवा तत्काल रोक” जस्ता नारा अङ्कितप्लेकार्ड बोकेर विरोध जनाएपछि कारागार प्रशासन र मोरङ प्रशासन गिरीको सरूवाका विषयमा अनिर्णित बनेको छ ।

तत्कालीन गृहमन्त्रीको ठाडो निर्देशनमा मोरङ कारागार ल्याउने क्रममा कारागारमा दिनप्रतिदिन भएको विरोधलाई बेवास्ता गर्दै प्रशासनले बलजफ्ती गिरीलाई मोरङ ल्याउनुको सुषुप्त उद्देश्य प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा गिरीको परिचालनका लागि हो भन्ने चर्चा छ । मोरङ कारागार आउनासाथ कारागारमा नाइके हुनका लागि कैदी तथा बन्दीलाई दबाब वा प्रभावमा पारी दर्जन बढी व्यक्ति घाइते हुने गरी कात्तिक २३ गते गिरीले कारागारमा योजनाबद्ध रूपमा झडप गराएको कारागारबाट सजायँ भुक्तान गरिसकेकाहरूको भनाइ छ ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस पार्टीलाई चुनाव खर्च जुटाउनका लागि गिरीलाई जुनसुकै अवस्थामा मोरङ कारागार ल्याइएको र गिरीले चुनावमा सहयोग समेत खुलेर सहयोग गरेको कारागारलाई नजिकबाट नियाल्नेहरूको भनाइ छ ।

गिरी कारागार आउनु अघि वा कारागार आएपछि कहिले धर्ना, कहिले प्रर्दशन र कहिले झडप नियमित तालिका जस्तो हुने गरेको छ । पुस २९ गतेको पत्रले गिरीलाई भिमफेदी कारागार सरूवागर्ने भनेपछि गिरीको प्लानमा कारागारभित्र राजनीतिकरण गरिएको कारागारभित्रको दृश्यले प्रष्ट पारेको छ । अभिषेक गिरीलाई मोरङ कारागारमा नल्याउन पहल गर्न माग गर्दै कैदीबन्दीका आफन्तजनले ०७८ असोज १८ गते जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदनसमेत दिएका, तर त्यो निवेदनउपर कुनै कारवाही भयो वा भएन त्यसको जानकारी अझै प्रशासनसँगै छ ।
“राज्यको नीति कारागारलाई मानवअधिकारमैत्री बनाउँदै यातना गृह भन्दा सुधार गृहका रूपमा विकास र रूपान्तरण गरिने” भन्ने छ । तर, मोरङ कारागारका विषयमा यो नीति ठीक उल्टो देखिन्छ ।

मोरङ कारागारमा रहँदा अभिषेक गिरीले कारागारभित्र कैदीबन्दीलाई यातना दिनुका साथै चन्दा असुलेकोे कैदीबन्दीले गुनासो गरेपछि मोरङ कारागारले ०७४ चैत २३ गते गिरीलाई डिल्ली बजार कारागार सरूवा गरेको थियो । गिरीलाई मोरङ कारागार सरूवा गर्न कारागार व्यवस्थापन विभागको पत्र मोरङ कारागारलाई ०७८ भदौ १७ गते प्राप्त भएपछि कारागारमा कर्तव्य ज्यान मुद्दाका दोषी तथा मोरङ कारागारका चौकीदार नवीन राईलाई झुम्का कारागार पु¥याउन मोरङ कारागारलाई उस्तै हम्मे परेको थियो ।

मानवअधिकारमैत्री कारागार निर्माणका लागि राज्यको नीति एउटा भएपनिअभिषेक गिरीका लागि सबै विकल्पहरू राज्यले खुल्ला गर्दा त्यसको प्रभाव कारागारहरूमा पटक पटक देखिँदै आएको छ । कारागारभित्र राजनीति गर्ने र त्यसको संरक्षण राजनीतिक दलहरूले गर्ने गरेका कारण गिरीको ताडण्व सधैं कारागारमाथि हुँदै आएको छ । आगामी फागुन ४ गते कैद भुक्तान हुने गिरी भनिएको भएपनि त्यस अवधिसम्म गिरीले कारागारलाई शान्त वा अशान्त बनाउने छन् । त्यो समयले देखाउने छ ।

बिहिबार, ०५ माघ, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर