इटहरी । धनिदेवी मुसहर उमेरले ७० भइन् । कुनै हिउँदमा न्यानो ओढ्ने नभेटिकी उनी सिरक पाएर दङ्ग छिन् । पुराना थाङ्ना ओडेरै जाडो कटाउने उनले न्यानो सिरक पाएपछिको खुसी अनुहारमा देखिन्थ्यो ।
दुई कलिला लालाबाला च्यापेर लाईनमा उभिएकी ४० वर्षे बिना मुसहरलाई चिसोमा छोराछोरी जोगाउने चिन्ताले गाँजेको थियो । तीन पुस्तादेखि सुकुम्बासी भएर बिजोकको जिन्दगी झेल्दै आएकी ७५ वर्षीया हसिना खातुनलाई अब बाँचिदैन जस्तो लागेको थियो रे ।
इटहरीका ७ वटा क्लबले इटहरी १७ र १ नम्बर वडामा फाइबर सिरक बाढ्दै गर्दा लायन्स अभियन्ता समेत भावुक बनेका थिए । सुकुमारी टोलको मुसहर बस्तीमा बुधबार पुग्दा बेग्लै उल्लास थियो ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक गभर्नर धिरज गुरुङले घुर तापेर धुलो धुँवामा जाडो काट्न बाध्य बिपन्न समुदायमा सेवा गर्न पाएकोमा प्रसन्नता ब्यक्त गरे ।
‘हामी अझै सहयोग गर्छौ, यो सहयोगको दुश्प्रचार नगरिदिनु होला’ उनले थपे । लायन्सका परोपकारी अभियन्ताले मानवताका लागि आफ्नै गोजीबाट निकालेर सहयोग गरेको उनको दावी छ ।
इटहरी २० का वडाध्यक्ष एवम् लायन्स अभियन्ता मणिराम श्रेष्ठले कसैलाई सिरक नपुगेको भए फेरि उपलब्ध गराउने बाचा गरे । कार्यक्रम सम्पन्न गर्न सफल भएको सो कार्यक्रमका संयोजक तथा लायन्स क्लब अफ तरहराका अध्यक्ष मुक्तिनाथ घिमिरेले बताए ।
कार्यक्रममा लायन्स क्लब अफ तालतलैयाका अध्यक्ष ज्ञानेन्द्र दाहालले बिपन्न समुदायमा सिरक बाढ्न पाउँदा खुशी लागेको बताए । सहयोगलाई सबैले सकारात्मक रुपमा ग्रहण गर्न अनुरोध गर्दै उपस्थित लायन्स क्लब इन्टरनेशनलका गवर्नर धिरज गुरुङ, फस्टलेडी रेखा गुरुङ, इन्टरनेशनलकै प्रथम भाइस गभर्नर नरनाथ सापकोटा, एरिया चिफ निरु चौधरी, मेनुका गिरीसहित क्लब अध्यक्षहरुमा धन्यवाद ज्ञापन गरे ।
इटहरीका लायन्स क्लब अफ कर्पोरेट, मनोकामना, शान्तिनगर लगायतको सक्रियतामा १६० परिवारलाई सिरक वितरण गरिएको थियो ।

