विराटनगर । चुनाव अघि भोजपुरका दुई जना प्रतिष्पर्धीबीच भयंकर घोचपेच चलेको थियो । यसको सुरुआत गरेका थिए, प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले ।

चुनावी सभाहरुमा शेरधनले भनेका थिए ‘सांसद भनेको मन्त्रीसँग बजेट माग्ने मात्रै हो, मैले जित्दा मन्त्री हुने हो । सुदन किराँती जिते सांसद मात्रै हुने हो ।’ त्यसपछि सुदनले पनि उही शैलीमा जवाफ फर्काए । अब जमाना बुलेट ट्रेनको भएको भन्दै उनले प्रत्युत्तर दिए ।

चुनावी परिणाम आयो, सुदनले शेरधनलाई हराए । अहिले सुदन सरकारको पर्यटमन्त्रीसमेत नियुक्त भएका छन् । सुदन मात्रै होइन , प्रदेश १ बाट प्रतिनिधिसभामा निर्वाचित थप चार जनाले यसपटक संघीय सरकारमा मन्त्री हुन अवसर प्राप्त गरेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रबाट दुई र नेकपा एमालेबाट एक मन्त्री थपिएका छन् । मन्त्रिपरिषद् विस्तार गर्दा प्रदेशका १ तीन नयाँ अनुहारले अवसर पाएका हुन् । प्रधानमन्त्रीकै पार्टी नेकपा माओवादी केन्द्रबाट मोरङका अमनलाल मोदी र भोजपुरका सुदन किराँती मन्त्री बनेका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट संघीय सरकारमा प्रतिनिधित्व गर्दा प्रदेश १ सँगै उपेक्षित रहँदै आएकोमा यस पटक भोजपुरका सुदन किराँती मन्त्री बन्ने कन्फर्म हुँदा मोरङका अमनलाल मोदी छुट्ने अवस्था थियो । अघिल्लो ५ वर्षे कार्यकालमा करिब ४ वर्ष २ वटा सरकारमा माओवादी रहेकोमा प्रदेश १ का कसैले पनि मन्त्री बन्ने अवसर नपाएकोमा यसपटक छुट्नुहुन्न भन्ने चर्को दबाब थियो ।

मन्त्रीको दावेदार मोदी र किराँतीमा किराँतीले अवसर पाउँदा मोदी फेरि छुट्ने आशंका धेरैलाई थियो । मोदी आफैं सोमबारसम्म किराती मन्त्री हुने कन्फर्म हुँदा आफू बञ्चित हुने अवस्था रहेको निकट कार्यकर्ताहरुसँग बताइरहेका थिए । मंगलबार माओवादीको पदाधिकारी बैठक सकिँदा माओवादीको तर्फबाट मन्त्री बन्नेहरुमा भोजपुरका किराती र दाङकी रेखा शर्माको नाम फाइनल भएको थियो । अर्को एक मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पाएका थिए । उनले मोदी छानेपछि माओवादीका तर्फबाट ५ जना सहभागी रहेको सरकारमा प्रदेश १ बाट २ जनाले अवसर पाएका छन् ।

अघिल्लो निर्वाचनमा पूर्वमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई फराकिलो मतअन्तरले पराजित गर्दै सांसद बनेका अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै गत निर्वाचनमा प्रदेश १ का पूर्वमुख्यमन्त्री एवं एमालेको प्रभावशाली नेता शेरधन राईलाई पराजित गरेका किराँतीले पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मा पाए ।

मोदी २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक सांसद भएका थिए । २०७४ सालमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेद्वार बनेका उनले काँग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गर । सो अबधिमा मन्त्री बन्ने चर्चा भएपनि उनले अवसर पाएनन् । २०४२ साल असोज ५ गते मोरङको बुढीगंगा गाउँपालिका तिलाठेमा जन्मिएका मोदीको शैक्षिक योग्यता भने १२ कक्षासम्म मात्रै हो । मोदीको राजनीतिक जीवन २०५७ देखि सुरु भएको हो । अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य पनि बनेका उनी अहिले पार्टीको केन्द्रीय सदस्य छन् ।

राजनीतिक रूपमा सक्रिय रहँदा मोदीले २०६० मा पक्राउ परी २ वर्ष ३ महिनासम्म जेल जीवन विताएका थिए । ३८ वर्षको उमेरमा कर्मचारी संयन्त्रको नेतृत्व गर्ने मन्त्रालयको जिम्मा पाएका मोदी खरो स्वभावकका नेता हुन् । गत निर्वाचनमा भोजपुरको चुनावी सभालाई सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदन किरातीलाई जिताए मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘सुदनजीलाई चुनाव जिताएर पठाउनु होला म मन्त्री बनाएर पठाउँछु ।’

नभन्दै प्रचण्डले किराँतलाई मन्त्री नियुक्त गरे । किराँती २०६४ साल र २०७४ सालमा पनि भोजपुरबाट निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए । ०६४ र २०७९ मा शेरधन राईलाई पराजित गरेका उनी २०७० मा भने राईसँगै पराजित भएका थिए ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य किराती २०३५ साल फागुन १२ गते बाबु हर्कबहादुर राई र आमा स्व. रक्षाकुमारी राईको कोखबाट हङकङ्मा जन्मिएका हुन् । बाबु बेलायत आर्मी भएकाले उनको जन्म उतै भएको थियो । रामप्रसाद राई गाउँपालिका–१ भोजपुरका स्थायी बासिन्दा सुदनले २०५४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को सदस्यता लिएका हुन् । त्यसपछि गोपाल किराँती नेतृत्वको किरात वर्कस पार्टी माओवादीमा आबद्ध भएपछि भूमिगत राजनीतिमा सक्रिय भए । जिल्लाबासीबीच सरल र सहयोगी स्वभावको कारण उनी लोकप्रिय छन् ।

उनले सेनाको ब्यारेक र मोरङ कारागारसहित करिब २३ महिना जेल जीवन विताएका थिए । उनी किराती राष्ट्रिय मुक्ति मोर्चा महासचिव र अध्यक्षसमेत रहिसकेका छन् । पार्टीको भोजपुर जिल्ला इञ्चार्ज रहेका उनी माओवादी र एमालेको एकता हुँदा पनि केन्द्रीय सदस्य थिए ।
त्यसैगरी एमालेबाट सुनसरी ३ की भगवती चौधरी नियुक्त भएकी छिन् । उनले तेस्रो प्रयासमा नेपाली कांग्रेसका नेता विजय गच्छदारलाई हराएकी हुन् । चौधरी महिला तथा बालबालिका मन्त्री बनेकी छन् ।

२०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद रहेकी उनी त्यसबेला वन तथा भू–संरक्षण राज्यमन्त्री बनेपनि २०७० र २०७४ को निर्वाचनमा गच्छदारसँग पराजित भएकी थिइन् । चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज छन् । ५१ वर्षीया चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् । उनको नेतृत्वमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन् । सुनसरीको दुहबी २ स्थायी ठेगाना भएकी चौधरीको जन्मस्थान भने साविक औराबनी गाविस (हाल गढी गाउँपालिका) हो ।

झापा क्षेत्र नम्बर ३ बाट विजयी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि पहिलो पटक सरकारमा गएका छन् । उनी उपप्रधान तथा ऊर्जा मन्त्री बनेका छन् । उनले मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई पराजित गरेका थिए । यसअघि पुस ११ गते एमालेबाट निर्वाचित धनकुटाका राजेन्द्र राई विनाविभागीय मन्त्री बनेका थिए । यस्तोमा नयाँ मन्त्रीहरूले शपथ लिएपछि उनले पनि भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।