इटहरी । सुनसरीको बर्जू गाउँपालिका ६ स्थित बर्जू महोत्सवमा प्रहरी र स्थानीय बिच झडप हुँदा ५ जना घाइते भएका छन् ।

भोजपुरी सुपर स्टार खेसरी लाल यादवले स्टेजमा प्रस्तुति दिँदै गर्दा बाहिर झडप भएको हो । झडपमा एक जना प्रहरी सहित ५ जना स्थानीयहरू घाइते भएका छन् । आयोजकले टिकटको मूल्य एकासी बढाएको भन्दै गेट बाहिर नाराबाजी गर्न थालेपछि उत्पन्न विवाद झडपमा परिणत भएको थियो ।

झडपमा सुनसरी गौतमपुरका २३ वर्षीय हिम अन्सारी , मोरङ धनपालथानका सिताराम महतो , देवानगञ्जका रञ्जित महतो लगायत घाइते भएका छन् ।

आयोजकले टिकटको मूल्य ५ सय पुर्‍याएको भन्दै स्थानीयले गेट बाहिर ढुंगामुढा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । यस अघि महोत्सवमा टिकट दर १०० रूपै या रहेको थियो । भोजपुरी कलाकार यादवको आगमनसँगै टिकट दर बढाएर रु ५०० बनाएपछि झडप हुन पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

झडप हुन थालेपछि बर्जू महोत्सव स्थल केही समय तनावग्रस्त बनेको थियो । हरेक वर्षको माघ महिनामा बर्जू महोत्सवको आयोजना हुँदा टिकटकै निहुँमा विवाद हुने गरेको छ । गत वर्ष माघ ४ गते पनि टिकटको मूल्य बढाएको तर खेसरीलाल यादवलाई नल्याएको भन्दै ४ वटा स्कारपियो गाडीमा आगजनी समेत भएको थियो ।