विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ बाट काँग्रेसका विजयकुमार गच्छदारको अपराजित यात्रामा ब्रेक लगाएकी नेकपा एमालेकी भगवती चौधरी दोस्रो पटक मन्त्री बनेकी छन् ।

२०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद रहेकी उनी त्यसबेला वन तथा भू–संरक्षण राज्यमन्त्री बनेपनि २०७० र २०७४ को निर्वाचनमा गच्छदारसँग पराजित भएकी थिइन् ।

गत मंसिर ४ गते भएको निर्वाचनमा गच्छदारलाई पराजित गरेकी चौधरीले प्रचण्ड नेतृत्वको सरकारमा महिला तथा बालबालिका मन्त्रालयको जिम्मा पाएकी छन् । गच्छदारको सातौं पटक सांसद बन्ने लक्ष्यमा तगारो बनेकी उनी दोस्रो पटक मन्त्री बनेकी हुन् ।

जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लागेको बताउने चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज छन् । ५१ वर्षीय चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् । उनको नेतृत्वमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन् ।

सुनसरीको दुहबी २ स्थायी ठेगाना भएकी चौधरीको जन्मस्थान भने साविक औराबनी गाविस (हाल गढी गाउँपालिका) हो । उनले २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्यता लिएकी हुन् । २०५८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य, ०७० सालमा कोशी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी छन् ।