विराटनगर। प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेबाट सुनसरीकी भगवती चौधरीले पनि मन्त्री बन्ने अवसर प्राप्त गर्ने भएकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सोमबार रातिको समझदारी अनुसार एमाले २ राज्यमन्त्री र ८ मन्त्री पाउँदा चौधरीले पनि अवसर पाउने भएकी हुन् ।
एमालेबाट उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलसहित ३ जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् । बाँकी चार विभागीय मन्त्रीमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीले मौका पाउने भएका छन् ।
एमालेले यसपाली दुईपटक चुनाव जितेका र अहिलेसम्म मन्त्री बन्न नपाएका मध्येबाट मन्त्री छनौट गरेको हो । त्यस्तै दुई राज्यमन्त्रीमध्ये एक रौतहटका किरण साह हुने भएका छन् भने अर्का एक जनाको नाम टुंगो लाग्न बाँकी छ ।
एमालेबाट यसअघि ज्वाला कुमारी साह,राजेन्द्र राई र दामोदर भण्डारी मन्त्री नियुक्त भइसकेका छन् । एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था, उद्योग र महिला बालबालिका मन्त्रालय पाएको छ ।