विराटनगर। नेकपा माओवादी केन्द्रबाट अमनलाल मोदी, रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज विस्तार गर्न लागेको मन्त्रिमण्डलमा मोदी, शर्मा र किरातीले अवसर पाउने निश्चित भएको हो ।
माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।
एक नेताका अनुसार दाङ २ बाट निर्वाचित रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री बन्ने भएकी छन् । यस्तै भोजपुरबाट निर्वाचित सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने स्रोतले जनाएको छ । एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ ।
सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।
दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

